शनिबार, जेठ ५, २०८१

मानुङकोटको खानेपानी समस्या समाधान हुँदै

नेपालखोज २०८० फागुन २ गते ७:२६

डुम्रे (तनहुँ) । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको ट्याङ्की निर्माण गर्न थालिएको बताए । उनले भने, ‘यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिवद्ध छ । हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ । यहाँको खानेपानी समस्या सम्बोधन हुन्छ ।’

व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले अबको एक हप्तामा खानेपानीको मुहान निश्चित हुने जानकारी दिए । उनले भने, ‘करिब छ–सात किलोमिटरको दूरीबाट खानेपानी बोरिङ गरेर ल्याउनेछौँ । केही मुहानमा विवाद हुँदा ढिलाइ भएको छ । समन्वय गरिरहेका छौँ ।’ पानी ल्याउने मुहान सुनिश्चित भएपछि पानीको समस्या टर्नेछ ।

यस ठाउँसँग जोडिएको पौराणिक किंवदन्ती रहेको छ । मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको मानिन्छ । महर्षि वेद व्यासकी माता मात्स्यगन्धासँग महर्षि परासर प्रेममा हुनुहुन्थ्यो । मत्स्यगन्धासँगको प्रेमलीला अरुले नदेखुन् भनेर महर्षि परासरले कुहिरोको उत्पत्ति गराएको कथनसमेत रहिआएको छ । मानुङकोटबाट पूर्वतर्फ दमौली बजारका साथै पश्चिमतर्फ गुणादी, उत्तरतर्फ मादी नदी, साँगेखोला र दक्षिणतर्फ सेती नदी छर्लङ्ग देखिन्छ ।

यसका साथै रमणीय हरियाली वनजङ्गल देखिन्छन् । विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी मानुङकोटको फेदीतर्फ झरे । पानी सहज हुने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन् । करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ ।

प्रतिक्रिया