शनिबार, जेठ ५, २०८१

सहरी क्षेत्रमा छाडा पशुको जगजगी

नेपालखोज २०८० फागुन ४ गते १५:४५

महोत्तरी । बिहान बेलुकाको घुमफिर होस् वा कुनै बजारका काममा यात्रीलाई ढेसा (घच्चा) लगाउँदै हिँड्ने छाडा पशुले यहाँका सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबैजसो बजार क्षेत्रमा छाडा चौपायाको जगजगी छ । बजारतिर निस्केपछि छाडा पशुलाई छिचोलेर निस्कन हम्मेहम्मे पर्ने सर्वसाधारणको गुनसो छ ।

‘बजारतिर निस्केपछि छाडा पशुले सिङ चलाइदिने हुन् कि भन्ने डर हुन्छ’, जलेश्वर–२ की होटल व्यवसायी कमला कोइराला भने, ‘निर्धक्क भएर बजारमा डुल्न कहिल्यै पाइएन ।’ घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितलाई नगर क्षेत्रका चोक, बजारक्षेत्रमा छाडा छोड्दा सर्वसाधारण आजित भएका हुन् ।

‘सडकको माझमै गाईले गजधम्म बसेर बाटो छेकेका हुन्छन्, पेटी वरपर पाठापाठीपछि लगाएर हिँड्ने सुगुँर देखिन्छन्’ जलेश्वर–८ का रामनन्दन यादव भने, ‘मान्छेकै लागि चाहिँ बाटो छैन कि भन्ने भान हुन्छ ।’

बजारमा हिँड्दा हिँड्दै गाई वा साँढेले पुच्छर चलाएर मलमूत्र छर्किदा बेरुप भएर घर फर्कन बाध्य हुनुपरेको जलेश्वर–४ की शिवानी राय बताए । ‘हिँडदा त्राहीत्राहीजस्तै परिन्छ, छाडा पशुले सिङ चलाएर नहानेको, ढेस्सा नलगाएको र पुच्छर चलाएर मलमूत्र लुगामा नलागेको कुनै दिन नै छैन’, उनको गुनासो छ ।

‘प्रत्येक दिनजसो बिहान मिरमिरे उज्यालो हुनासाथ पशुधनीले आफ्ना बस्तु फुकाएर बजार वा चोकतिर लघार्ने यहाँ आम चलनजस्तै बनेको छ । सदरमुकाम जलेश्वरसहित जिल्लाका सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटीमा सडक ढाकेर गाईबस्तु देखिँदा पनि यसको रेखदेख र अनुगमन नहुँदा नगरचोक, मुख्य सडक र पेटी अस्तव्यस्त छन्”, भङ्गाहा–४ रामनगर निवासी गङ्गाराम महतो भने, ‘सम्बद्ध नगरपालिका र वडा कार्यालयले यसमा तदारुखता देखाउनै पर्छ ।’

जलेश्वरका साथै बर्दिवास, गौशाला, रामगोपालपुर, मटिहानी, मनरा र बलवासहित बजारक्षेत्रमा घरपालुवा पशु छाडा छाडेको पाइन्छ । छाडा देखिने पशुमा धेरैजसो गाई र सुँगुर देखिन्छन् । बथानमै देखिने गाईलाई पछ्याउने साढे पनि दर्जनौँ सङ्ख्यामा देखिन्छन् ।

प्रतिक्रिया