शनिबार, जेठ ५, २०८१

भित्तेपत्रिकाबाट पत्रकारिताको अभ्यास

नेपालखोज २०८० फागुन ९ गते ९:१०

बझाङ । निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुन् । उनले प्रकाशन गर्ने पत्रिकाका लागि आफूजस्तै साथीहरूलाई समेटेर सम्पादकीय टोली बनाएकी छिन् । साथीहरूका समाचार, लेख, रचना सङ्कलन गरेर सम्पादकलाई जिम्मा दिइन् । निर्मला भने विज्ञापन तथा सूचनाको खोजीमा लागिन् ।

सरस्वतीको सम्पादकको नियुक्ति पाएको छ, जीवन बागले । जीवनले हरेक महिनाका लागि समाचार, विचार, साहित्य, लोकसेवा प्रश्नोत्तर तथा अन्य स्तम्भका सामग्री तयार पारेर महिनाको पहिलो साता पत्रिका प्रकाशन गरिन् । उनी सम्पादन मण्डलका अन्य सदस्यलाई पनि पत्रिकाका सामग्री तयार गर्न खटाइन् ।

यो भित्तेपत्रिका बुङ्गल नगरपालिका–१० मा रहेको सीताराम माविमा नियमित प्रकाशन हुन्छ । सूर्यमुखी किशोरकिशोरी बाल क्लबले आर्थिक वर्ष २०७७/७८ देखि विद्यालयमा नियमित प्रकाशन गर्दै आएको छ । समुदाय तथा विद्यालयको जानकारीका लागि र समुदाय तथा विद्यालयमा भएका घटनाक्रमको जानकारी समेटेर प्रकाशन हुने गरेको सम्पादक जीवनले बताए ।

भित्तेपत्रिका प्रकाशनका लागि विद्यार्थीलाई दलित सहयोग समाज र युनाइटेड मिशन टु नेपाल बझाङको साझेदारीमा सञ्चालित समान व्यहार परियोजनाले सहयोग गर्दै आएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले भित्तेपत्रिका माध्यमबाट सहयोग गरेको सरस्वतीकी प्रकाशक बागले बताइन् ।

प्रतिक्रिया