बिहीबार, वैशाख २०, २०८१

आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरू

नेपालखोज २०८० फागुन १३ गते ९:४६

काठमाडौं । आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशभर सुरू भएको छ। दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन हुनेछ।

दादुरा(रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई यो खोप लगाइने छ । तराई मधेशका २१ जिल्ला र काठमाडौँ उपत्यकाका ३ जिल्लाहरूमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ। बाँकी जिल्लाहरूमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई लगाइनेछ।

रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ । यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरूमा प्रकोपको रूप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो। अब सन् २०२६ भित्र दादुरा-रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ ।

खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ८२ हजार ९९३ बालबालिकालाई यसपटक दादुरा र रुबेलाको खोप लगाइने छ । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट लगाइने छ। नियमित खोप लगाउन छुटेका बालबालिकाहरूलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया