बिहीबार, वैशाख ६, २०८१

खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार

नेपालखोज २०८० फागुन १५ गते ८:३१

खोटाङ । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो ।

उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्नेगरी अस्पताल भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् । ‘राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा अनन्त अधिकारीसँग कुराकानी गरेर उपचार सुरु गरिएको छ ।

बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘उपचारमा संलग्न डाक्टरले फुरदिकुको समस्या चाँडै ठिक हुन्छ भनेका छन् । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुन्छ । फुरदिकुको कुरुवाका रूपमा बस्ने एकजना अभिभावकलाई खाने र बस्ने व्यवस्था नगरपालिकाले गर्छ ।’

मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गालीबेइज्जत बोल्ने, बेठेगान तरिकाले हिँड्नेलगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको थियो । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो ।

आर्थिक अभावमा खोरमा थुनिएकी फुरदिकुलाई नगरपालिकाले जीपमा चढाएर सोमबार अपराह्न अस्पताल पुर्याइएको थियो । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखा पर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसबेला औषधि सेवन गराएपछि स्वास्थ्यमा सुधार भएको जनाइएको छ ।

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएको फुरदिकुलाई पुनः गत माघ ३ गतेदेखि अस्वस्थ बनेको आमा निम्ले शेर्पाले बताउनुभएको छ । पछिल्लो समय फुरदिकुले अचानक अनियन्त्रित व्यवहार दखाउन थालेपछि खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको थियो । फुरदिकु नुनथलाकै जालपा माध्यमिक विद्यालबाट विसं २०६७ मा एसएलसी उत्तीर्ण गर्नुभएको छ ।

प्रतिक्रिया