शुक्रबार, वैशाख २१, २०८१

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

नेपालखोज २०८० फागुन १६ गते ६:०७
This image has an empty alt attribute; its file name is Gandaki-Pradesh_QDkAo83Gqo.jpg

गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुने जानकारी दिइन् ।

सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘हिउँदे अधिवेशनमा सात वटा विधेयक अगाडि बढाउने तयारीमा सरकार छ’, प्रवक्ता अर्यालले भनिन् ।

यसअघि प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतरुपमा पारित भएको थियो ।

प्रदेशसभाका कानुन अधिकृत कुमार रिजालले आज दिउँसो २ बजे प्रदेशसभा बैठक सुरु हुने जानकारी दिए । कार्यव्यवस्था परामर्श समिति बसेर बैठकको कार्यसूची तय गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया