आइतबार, वैशाख २३, २०८१

भरतपुर भ्रमण वर्ष २०२४ : आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

नेपालखोज २०८० फागुन २० गते ८:०२
भरतपुर भ्रमण वर्ष २०२४' को तयारी

मुग्लिन (चितवन) । भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ । आउँदो चैत ९ देखि १८ गतेसम्म महोत्सव हुने भएको हो ।

आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार चितवनमा आदिवासी जनजाति महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो । आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ ।

‘वेशभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ’, उनले भने, ‘यसो भन्दै गर्दा आदिवासी जनजाति समुदायलाई मात्रै स्थान दिने भन्ने होइन ।’ महोत्सवलाई सबैको साझा बनाउने विषयमा जनजाति महासङ्घ सचेत रहेको उनले बताए । महोत्सवबाट आदिवासी जनजाति सांस्कृतिक हिसाबले पनि एकतामा रहेको सन्देश फैलाउने लक्ष्य लिइएको उनको भनाइ छ ।

महासङ्घका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तीमा दुई सयभन्दा बढी व्यापारिक स्टल रहनेछ । चैत ९ गतेदेखि महोत्सव लगाउने निश्चित भइसकेको हुँदा तयारीलाई तीव्र पारिएको उनले बताए । भरतपुर महानगरपालिकाबाट अनुमति पाइसकेपछि हामी तयारीलाई नै तीव्रता दिइरहेको उनले बताए । कम्तीमा दुई लाख दर्शकलाई महोत्सव अवलोकन गराउनेगरी तयारी थालिएको उनले बताए ।

चितवनमा थारू, चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७ आदिवासी जनजाति समुदाय बसोबास गर्दछन् । ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासङ्घका सचिव भुजेलले जानकारी दिए । ‘महोत्सवमा चितवनका आदिवासी जनजाति सम्बद्ध सबै सङ्घसंस्थाको प्रतिनिधित्व हुने छ’, उनले भने, ‘सबै जातजातिले आ–आफ्नो वेशभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउनेछन् ।’

प्रतिक्रिया