रूसी माध्यमबाट सेनाको गोप्य वार्ता चुहावटबारे छानबिन गर्ने जर्मनीको प्रतिवद्धता

नेपालखोज २०८० फागुन २० गते १५:०७

बर्लिन । यूक्रेन युद्धबारे सेनाको गोप्य वार्ताको रेकर्डिङ रूसी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जर्मनीका चान्सलर ओलाफ सोल्जले यसको पूर्ण छानबिन गर्ने प्रतिबद्धता शनिबार जनाएका छन् ।

जर्मनीको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीसँग कुरा गर्दै वायु सेनाको प्रभागमा भएको कुराकानी ‘चोरिएको’ विश्वास मन्त्रालयले गरेको जनाएका छन् । जर्मनीले आफ्ना अधिकारीहरूले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने र सम्भावित निशानाहरूबारे छलफल गरिरहेको सैन्य बैठक रूसको ‘ह्याकिङ’मा परेको स्वीकार गरेको हो ।

भिडिओ सम्मेलनमार्फत् भएको बैठकको श्रव्य सामग्री रूसको सरकारी च्यानल आरटीकी प्रमुखले मार्गरिटा सिमोनियानले शुक्रवार सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । अधिकारीहरूले गैरकानुनी रूपमा गाभिएको क्रिमिया र रूसलाई जोड्ने केर्च पूललाई कसरी ती क्षेप्यास्त्रहरूले निशाना बनाउन सक्छन् भन्ने छलफल गरिरहेका श्रव्य सामग्रीमा सुन्न सकिन्छ ।

रूसी नेताहरूले उक्त श्रव्य सामग्रीले ‘सधैँ घृणा गरिरहने शत्रु’ ले आक्रमणको योजना बुनिरहेको प्रमाणित गरेको उल्लेख गरेका छन् । जर्मनीका चान्सलर ओलाफ सोल्सले चुहावट जस्तो देखिने उक्त घटना ‘ज्यादै गम्भीर भएकाले सावधानीपूर्वक, गहन र ज्यादै द्रूत ढङ्गले अनुसन्धान’ अघि बढाइएको बताएका छन् ।

डेर स्पीगल म्यागजिनका अनुसार उक्त भिडियो सम्मेलन कुनै गोप्य आन्तरिक सैन्य नेटवर्कमा नभई वेबएक्सको प्ल्याटफर्ममा आयोजना गरिएको थियो । उक्त रेकर्डिङमा युक्रेनी फौजहरूले जर्मनीमा बनेको टोरस क्षेप्यास्त्रहरूको प्रयोग गर्ने सम्भावना र त्यसको सम्भावित असरबारे छलफल गरिरहेको सुन्न सकिन्छ ।

जर्मन रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘सामाजिक सञ्जालमार्फत् बाहिरिएको उक्त सामग्री रेकर्ड गरिएको वा लिपीवद्ध स्वरूपमा रूपान्तरण गरिएको हो वा होइन भनेर हामी अहिले भनिहाल्न असमर्थ छौं । अनुसन्धान भइरहेको छ ।’ उक्त श्रव्य सामग्रीमा फ्रान्स र बेलायतले कीएभलाई उपलब्ध गराएको क्षेप्यास्त्रको प्रयोगबारे पनि छलफल भएको छ ।

कीएभले लामो समयदेखि जर्मनीलाई ५०० किलोमिटर (३०० माइल) टाढासम्म पुग्न सक्ने टोरस क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गर्दै आएको छ । सोल्सले हतियार आपूर्तिले द्वन्द्वलाई थप बढाउने चिन्ता व्यक्त गर्दै अहिलेसम्म क्षेप्यास्त्र पठाउन अस्वीकार गर्दै आएका छन् । उनले शनिबार रोम भ्रमणका क्रममा भने, ‘जे रिपोर्ट भइरहेको छ, त्यो निकै गम्भीर विषय हो र यसैकारण यसको अहिले निकै सावधानीपूर्वक, धेरै गहन र छिटो अनुसन्धान भइरहेको छ ।’

जर्मनीको प्रसिद्ध प्रसारक एआरडीले यो चुहावट जर्मन गुप्तचर सेवाका लागि ‘विपत्ति’ भएको बताएको छ । शनिबार टर्कीमा आयोजित एक कूटनीतिक मञ्चमा बोल्दै रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभले यूक्रेन र उसका समर्थकहरूले आफ्नो बाटो परिवर्तन गर्न नचाहेको र युद्धभूमिमा रूसलाई रणनीतिक पराजय दिन चाहेको सङ्केत उक्त रेकर्डिङले दिएको बताए ।

प्रतिक्रिया