शनिबार, वैशाख १५, २०८१

स्वदेशी महले पाएन बजार

नेपालखोज २०८० फागुन २३ गते १०:०३

चितवन । जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् ।

नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार गतआवमा १६ हजार पाँच सय किसान मौरीपालन व्यवसायमा रहेकामा यस वर्ष घटेर १३ हजार आठ सयमा झरेका छन् । उनले भने, ‘बजारीकरणमा समस्या हुँदा किसानले व्यवसाय छाडेर पलायन हुनुपर्ने अवस्था आएको छ ।’ कतिपय किसान विदेशिएका छन् भने कतिपयले व्यवसाय परिवर्तन गरेको उनले जानकारी दिए ।

चरनको अभाव र बिदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएको उनले बताए । उनले भने, ‘बजारमा विदेशी मह बिक्री भइरहेको छ । नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ ।’ विभिन्न स्थानमा मौरी चराउन जाँदा विषादि हालीदिने, चोरी हुने र स्थानीय तहहरूले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै आनाकानी गर्ने गरेकाले समेत किसान पलायन हुँदै गएको उनको भनाइ छ ।

उनले भने, ‘किसान पलायन हुनुको मुख्य कारण चरन क्षेत्रको अभाव त छँदै थियो तर अहिले बजारीकरणको समस्या झन् बढी भयो ।’ आयातित महले नेपाली बजार भरिएको भन्दै उनले थपे, ‘विभिन्न ब्राण्डका नाममा विदेशी मह बिक्री हुने गरेको छ ।’

नेपालमा वार्षिक चार हजार दुई सयदेखि चार हजार पाँच सय मेट्रिक टनसम्म मह उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित महमध्ये दुई हजार मेट्रिक टन मह गोदाममा थन्किएको उनले बताए ।

प्रतिक्रिया