आइतबार, वैशाख २३, २०८१

स्थानीयवासीका सक्रियतामा जेभालेलाई नमूना पर्यटकीय गन्तव्य बनाइँदै

नेपालखोज २०८० फागुन २८ गते १०:४६

पाँचथर । पहाडका हरेक टाकुरा पर्यटकीय दृष्टिले महत्वका हुन्छन् । यहाँ कुनै न कुनै धार्मिक वा पुरातात्विक विशेषता पनि लुकेको हुन्छ । तिनै टाकुरामा पर्यटक भित्र्याउने उद्देश्यले कतै पूर्वाधार तयार पारिँदै छ भने कतै प्रचारप्रसारमा जोड दिइँदै छ ।

हुन त सबै पर्यटकीयस्थलमा बजेट पुग्न सकेको छैन भने बजेट पुगेका स्थल पनि पर्यटकको आकर्षण बनिसकेका छैनन् । तर फिदिम नगरपालिका–१३ को जेभाले भने स्थानीयवासीको सक्रियतामा धार्मिक र पर्यटकीयरुपमा विकास भइरहेको छ । फिदिम बजारबाट फिदिम–फालोट सडक हुँदै यहाँसम्म पुग्न सकिन्छ । फिदिम–फालोट सडकमा पर्ने फिदिम–१२ को डेरी बजारबाट कच्ची सडक हुँदै जेभालेसम्म पुग्न सकिन्छ । स–साना थुम्काको मध्यम टाकुरो, विशेष प्रकारका चट्टानहरुको सानो पहाड, खोचमा गुप्तेश्वर महादेव स्थानले सज्जित छ जेभाले ।

जेभालेबाट माथिपट्टि बूढीथाम धार्मिकस्थल छ । फिदिम–१३ को झुरुप्प घर रहेको सुन्दर बस्तीको शीरमा जेभाले सजिएर बसेको छ । जेभालेबाट फिदिम नगरपालिकाका अधिकांश वडासहित पाँचथर, तेह्रथुम र धनकुटाका सयौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । पाथीभरादेखि कुम्भकर्ण हिमालसम्म दूरदृश्यका लागि पनि जेभाले उपयुक्त छ ।

अहिले जेभाले गुराँस र चापको सुगन्धले मगमगाएको छ । हातमा गुराँस टिपेर लुङरुपाको बस्तीमाथि हल्लाउँदा कम आनन्द पक्कै हुँदैन । गुप्तेश्वर महादेव स्थान दर्शनार्थीको मनोकाङ्क्षा पूरा गर्न तम्तयार भए झैं लाग्छ यहाँ पुग्दा । तर यति आकर्षणले स्थानीयवासीलाई पुगेको छैन् । अहिले त जेभाले थुम्कैपिच्छे संरचना बनाउन भ्याइनभ्याइ छ । कच्ची सडक हुँदै गुप्तेश्वर महादेव स्थानको प्रवेशद्वारमै पुगिन्छ । माथिपट्टि केही घर रहेको पञ्चमी भञ्ज्याङ पर्यटकको स्वागतमा तम्तयार देखिन्छ । बस्तीमा सफाचट सार्वजनिक शौचालय छ ।

दुई टाकुराको बीचमा अहिले आकर्षक खेलमैदान निर्माण भइरहेको छ । खुला सभाकक्ष निर्माण भइसकेको छ भने खेल मैदानसँगै शौचालय र खेल गतिविधि सञ्चालन गर्ने सानो कार्यालय बनिरहेको छ । यही निर्माण कार्यमा धमाधम श्रम गरिरहेको भेटिनुहुन्छ, गजेन्द्र राई । जेभाले बदल्ने हुटहुटीले हरबखत पिरोलिएको कोही मान्छे यहाँ भेटिन्छ त्यो गजेन्द्र राई नै हो ।

प्रतिक्रिया