शनिबार, वैशाख १५, २०८१

गतवर्ष कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी

नेपालखोज २०८० फागुन २९ गते १०:४६

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार जडीबुटी निर्यातबाट दुई करोड ९४ लाख राजस्व सङ्कलन भएको छ ।

प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए । ‘कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको छ’, उनले भने, ‘कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन्, यसको उचित प्रयोग अब आवश्यक छ ।’

जडीबुटीबाहेक वन क्षेत्रका काठ–दाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्याङ्क छ । कर्णालीमा पाइने जडीबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाहरूले बताउँदै आएका छन् । औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरू सञ्चालन गरेका छन् । तर दक्ष जनशक्ति, पूर्वाधारको अभाव र जीर्ण बन्दै गएको औषधि बनाउने मेसिन प्रयोग गर्दै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसान्धन केन्द्रले सेवा दिँदै आएको छ ।

जडीबुटी बिक्री गरी आम्दानी गर्ने जिल्लामा सबैभन्दा अगाडि हुम्ला रहेको जनाइएको छ । उनले कर्णाली प्रदेशमा जडीबुटी सङ्कलन र भण्डार केन्द्र नहुँदा समस्या भएको बताए । निर्देशक कर्णले ‘यहाँ प्रशोधन गर्ने उद्योग छैन, हामीले यस्तो बहुमूल्य जडीबुटी सस्तोमा बेच्नुपर्ने बाध्यता छ । प्रशोधन उद्योग स्थापनाका लागि प्रदेश र केन्द्र सरकारले सोच्नुपर्छ ।’ कर्णाली प्रदेशबाट निर्यात हुने जडीबुटीबाट मनग्य आम्दानी लिनेगरी नीति बन्न आवश्यक रहेको उनले औँल्याए ।

प्रतिक्रिया