शनिबार, वैशाख १५, २०८१

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी ’

नेपालखोज २०८० फागुन ३० गते ८:४०

महेन्द्रनगर (कञ्चनपुर) । कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् ।

सत्र वर्षअघि टीकापुर महोत्सवबाट थारू कला, संस्कृति, पहिरन र परिवारसहितको थारू गाउँ मेला–महोत्सवमा राखेर परम्परागत संस्कृतिको संरक्षणसँगै आयमूलक काममा जुटेका कुश्मीसँगै ३० जना थारू समुदाय यतिबेला सुदूर, लुम्बिनी र कर्णाली प्रदेशमा सक्रिय छन् । पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारू गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारू समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राखिने बताएका छन् ।

‘यहाँबाट कैलालीको बौनिया र चिसापानी सोल्टामा पनि महोत्सव आयोजकले बोलाइसकेका छन्’, कुश्मीले भने, ‘थारूको परम्परागत नृत्यदेखि परिकारसम्म एउटै थलोमा पाउँदा मेला अवलोकनकर्ताको प्रमुख आकर्षण नै थारू गाउँ बन्छ ।’ थारू गाउँको सञ्चालक बन्नुअघि मेलामा लत्ताकपडाको व्यापार गरेका कुश्मीले गर्मीयाम सुरु भएसँगै मेला–महोत्सवमा कमी आउने भएपछि आफूहरू खेतीपातीमा लाग्ने गरेको बताए ।

‘महेन्द्रनगरमा अहिले १२ स्टलको थारू गाउँ छ भने आठ स्टल सुर्खेत र बाँकी दिपायलमा गएको छ’, उनले भने, ‘अब दार्चुलामा जाने कुरा भइरहेको छ ।’ उनले महोत्सवमा चहलपहल बढी भएका बेला प्रतिस्टलले रु एकदेखि एक लाख ५० हजारसम्मको कारोबार गर्ने गरेको बताए । थारू गाउँमा परम्परागत पहिरनमा थारू युवायुवतीले नृत्य देखाउनुका साथै परिकारको स्वाद दिने गर्छन् ।

प्रतिक्रिया