आइतबार, वैशाख १६, २०८१

ज्येष्ठ नागरिकलाई दीर्घरोगको समस्या

नेपालखोज २०८० चैत १ गते ९:२१

टीकापुर । ज्येष्ठ नागरिक पदमादेवी कुँवरलाई दमको समस्या छ । पचहत्तर वर्ष उमेर लागेकी उनलाई ग्याष्ट्रिकको समस्याले सताएको छ । ‘यसबाहेक समय समयमा देखिने विभिन्न खाले स्वास्थ्य समस्याले गर्दा नियमितजसो औषधि सेवन गरिरहनुपरेको उनले बताए । चिसोमा पनि दमले सताउने, गर्मीमा पनि गाह्रो हुने गर्छ’, उनले भने, ‘खानपानमा निकै ध्यान दिनुपर्छ । शरीर कमजोर हुँदै गएको छ । स्वास्थ्यमा पनि विभिन्न समस्या देखिने गरेका छन् ।’

कैलालीकै कृष्णादेवी सञ्याजललाई मधुमेह, उच्च रक्तचाप र नसासम्बन्धी समस्याले सताउने गरेको छ । ‘नियमित औषधि खान्छु, दीर्घरोगले सतायो’, उनले भने, ‘बुढेसकालमा हाम्रो स्याहारसुसार गर्न परिवारलाई पनि समस्या हुने गरेको छ ।’ उमेर ढल्कदै जाँदा मानिस शारीरिक रुपमा कमजोर हुँदै जान्छ । शारीरिक कमजोरी र उचित स्याहारसुसारको कमी र खानपान असन्तुलनले बुढेसकालमा विभिन्न खाले स्वास्थ्य समस्या देखा पर्दछन् । उनीहरु बुढेसकालमा ज्येष्ठ नागरिकलाई उचित स्याहार र परिवारको माया चाहिने बताउँछन् ।

अर्का ज्येष्ठ नागरिक शिव गौचनलाई पनि विभिन्न खाले रोगले सताएको छ । नियमित औषधि खानुपर्ने समस्या रहेको उहाँको भनाइ छ । ‘शरीरमा कहिल्यै आराम छैन, औषधिको सहारामा ज्यान बाचेको छ’, उनले भने, ‘शरीरमात्र होइन मन पनि उमेर ढल्कदै जाँदा कमजोर हुने रहेछ ।’

टीकापुरकै मनबहादुर रावललाई पनि उच्च रक्तचापको समस्या रहेकाले नियमित औषधि सेवन गरिरहेका छन् । उनले सरकारले भत्ता उपलब्ध गराएर राम्रो गरिरहेको बताउनुहुन्छ । “म जस्ता नागरिकलाई सरकारले भत्ता उपलब्ध गराएर राम्रो काम गरेको छ’, उनले भने, ‘त्यही भत्ताले आफ्नो खर्च चलाउन पुगेको छ । सरकारले स्वास्थ्य बीमा गरिदिएर औषधि उपचारमा सहज भएको छ ।’

मोती ढोली पनि विभिन्न खाले स्वास्थ्य समस्याबाट ग्रसित हुनुहुन्छ । छोरा बुहारी भारतमा भएकाले उनलाई कामकाजमा समस्या हुने गरेको छ । असी वर्ष पुग्न थालेकी धना ढुङ्गानालाई मधुमेहका कारण बढी समस्या हुने गरेको छ । उमेर ढल्केसँगै हातखुट्टा दुख्नेलगायतका समस्याले सताएको छ ।

प्रतिक्रिया