आइतबार, वैशाख २३, २०८१

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

नेपालखोज २०८० चैत ४ गते ८:३९

ढोरपाटन (बागलुङ) । एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन ।

भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ । धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ । यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । वर्षौँ पहिलेदेखि यस मन्दिरमा भक्तजनको भीड लाग्ने गरे पनि पूर्वाधार अभावमा पूजाआजा गर्न समस्या थियो ।

पाँच वर्षयता बरेङ गाउँपालिकासँगै गण्डकी प्रदेश सरकारले पनि बजेट विनियोजन गरेर पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले मन्दिर व्यवस्थापन, खानेपानी, शौचालय, भक्तजन बस्ने भवन, फनपार्क निर्माण गरेको छ भने मन्दिरसम्म आउने सडक बाह्रै महिना सञ्चालन हुने गरी व्यवस्थित बनाएको छ ।

धान्य पूर्णिममा यस मन्दिरमा ठूलो मेला लाग्ने गर्छ भने हरेक महिना करिब दुई हजार धार्मिक पर्यटक यहाँ आउने गर्छन् । धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिने सत्यवतीमा भौतिक पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रलायले चालु आर्थिक वर्षमा १० लाख र बरेङ गाउँपालिकाले १३ लाख बजेट विनियोजन गरेका छन् ।

विनियोजित बजेटबाट पदमार्ग र मन्दिर परिसरमा भवन निर्माण गर्न थालिएको छ । दक्षिण बागलुङको मुख्य धार्मिकस्थल भएको हुँदा यहाँ हालसम्म पालिकाले रु एक करोड बढी लगानी गरिसकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

पहिले मन्दिर परिसर निकै साँघुरो हुँदा भक्ताजनले सास्ती खेप्नुपरेको भन्दै अहिले चारैतिर फराकिलो र व्यवस्थित बनाएको उहाँको भनाइ छ । देशभरबाट भक्तजन आउने तर यहाँको सडक अव्यवस्थित हुँदा दुःख पाएकाले अहिले सडकलाई कच्ची भए पनि बाह्रै महिना सञ्चालन हुने बनाएको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया