शनिबार, वैशाख १५, २०८१

विश्वविद्यालय ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरौँ : मन्त्री बस्नेत

नेपालखोज २०८० चैत ९ गते १३:४४

पाटन(ललितपुर) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले क्याम्पस तथा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नवआगन्तुक विद्यार्थीको स्वागतमा अखिल (क्रान्तिकारी) पाटन क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रममा उनले क्याम्पस र विश्वविद्यालयलाई ज्ञान प्राप्त गर्ने थलोमात्र सीमित नगरेर ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजान सक्नुपर्ने बताए ।

‘गौरवशाली इतिहास बोकेको यो क्याम्पसको आफ्नै महत्व छ । अहिलेका प्रधानमन्त्रीले विसं २०२८/२९ तीर यही क्याम्पसमा पढेका थिए । उच्च शिक्षा हासिल गर्ने जिम्मेवारी पूरा गर्दै मुलुक र देशको भविष्य निर्माणका लागि क्रियाशील रहन विद्यार्थी भाइबहिनीमा आग्रह गर्दछु’, मन्त्री बस्नेतले भने ।

उनले मुलुकको स्वाभिमान र स्वाधीनताका लागि त्याग गर्ने सहिदको योगदानमा खडा भएको अखिल (क्रान्तिकारी)ले मुलुकको राजनीतिक जीवनमा परिवर्तन ल्याउन सङ्घर्ष गरेको बताए । मन्त्री बस्नेतले बदलिदो परिवेशसँगै इतिहास र आदर्शलाई मुलुकको आवश्यकता र सन्दर्भसँग जोडेर ज्ञान उत्पादनतर्फ लाग्न विद्यार्थीलाई आग्रह गरे ।

प्रतिक्रिया