आइतबार, वैशाख १६, २०८१

राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गाजा युद्धविरामबारे मतदान हुँदै

नेपालखोज २०८० चैत ९ गते १५:०१

संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका । गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश गर्ने भएको छ ।

गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी क्षेत्रमा तत्काल युद्धविरामका लागि आह्वान गर्न विश्व निकायलाई रोक्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को भिटो प्रयोग गर्दै आएको छ ।

फेब्रुअरीको अन्त्यमा अन्तिम भिटो पछि अमेरिकी अधिकारीहरूले बन्धकहरूको रिहाइको बदलामा छ हप्ताको युद्धविरामको लागि गाजामा भएका कूटनीतिक प्रयासहरूको पक्षमा केन्द्रित वैकल्पिक प्रस्तावमा छलफल गरिरहेका छन् ।

युद्धविराम सम्झौताको प्रस्तावको पछिल्लो संस्करणमा ‘सबै पक्षका नागरिकहरूको सुरक्षा गर्न, आवश्यक मानवीय सहायता प्रदान गर्न र मानवीय पीडा कम गर्न तत्काल र दिगो युद्धविरामको आवश्यकता’ लाई उल्लेख गरिएको छ ।

त्यसैले प्रस्तावको पछिल्लो संस्करणले ‘बाँकी रहेका सबै बन्धकहरूको रिहाइको सन्दर्भमा यस्तो युद्धविराम सुरक्षित गर्ने कूटनीतिक प्रयास’लाई जोड दिएको छ ।

इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाको समर्थनलाई कम गर्न अन्तर्राष्ट्रिय समुदायबाट दबाब आइरहेको समय बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पछिल्लो प्रस्तावले ‘कडा सङ्केत’ दिएको बताएका छन् ।

प्रस्तावमा बन्धकहरूको रिहाईसँग जोडिएको तत्काल युद्धविरामको आह्वान गरिएको र राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले यसलाई समर्थन गर्ने मा आफू विश्वस्त रहेको साउदी अरब भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले बताएका थिए ।

यद्यपि, प्रस्तावमा स्पष्ट रूपमा ‘आह्वान’ शब्द प्रयोग गरिएको छैन, बरु केवल युद्धविराम अनिवार्य छ भनेर उल्लेख गरिएको छ । रूसले प्रस्तावमा प्रयो गरिएको उक्त भाषालाई लिएर प्रस्तावलाई धेरै कमजोर भनेको छ ।

प्रतिक्रिया