आइतबार, वैशाख २३, २०८१

घोडा दौड प्रतियोगिताको उपाधी दिपेन्द्रलाई

नेपालखोज २०८० चैत १२ गते ७:३०

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडा दौड प्रतियोगितामा कास्कीको समरुङका दिपेन्द्र गुरुङ प्रथम भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ खिवाङ देखि घोडेपानीसम्मको छ दशमलब पाँच किलोमिटर दुरी २८ मिनेट ४१ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो । बिजेता र उपबिजेताको समयान्तर ५ सेकेण्ड रहेको छ । २८ मिनेट ४६ सेकेण्डमा दुरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्कीको घान्द्रुककै दिपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो भए ।

प्रथम, दृतीय र तृतीयलाई क्रमश रु। ५५ हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको प्रतियोगितामा शिख, घोडेपानी, घान्द्रुक, समरुङ, उल्लेरी, फलाते लगायत ठाउँका २५ जना घोडालाई दौडाइएको थियो ।

घोडा दौडका लागि खिवाङ देखि कुटुका–ठुलाखर्क– पेरिभारानी ताल– भलखरा –लरेनी, कालिसार हुदै घोडेपानी जोड्ने परम्परागत मार्ग प्रयोग गरिएको प्रतियोगिताको संयोजन गर्नुभएका घोडेपानीका घोडा व्यवसायी बिरेन गर्बुजा पुनले बताए । पर्यटन प्रर्वद्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

‘घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ,’ घोडेपानीका घोडा ब्यवसायी याम पुनले भने ‘सौखिन पर्यटकहरु घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिड्न नसक्ने पर्यटकहरु घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ‘

घोडेपानी युवा क्लव, आमा समुह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । फागु पुर्णिमा पर्वको अवसरमा आयोजित घोडा दौड प्रतियोगिताले अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य घोडेपानीमा पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो । घोडादौड अवलोकनका लागि पर्यटकहरुको आएका थिए ।

पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकहरु आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ ।

घोडेपानी र घोडाको ऐतिहाँसिक सम्बन्ध छ । परापुर्व कालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तिर्थयात्रा गर्ने र चिनीयाहरुलाई भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो । समुन्द्रि सतहदेखि करिब दुई हजार ८०० मिटरको उचाईमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्बदन्ती छ ।

प्रतिक्रिया