आइतबार, वैशाख १६, २०८१

जापानी प्रधानमन्त्री किशिदाले गरे शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

नेपालखोज २०८० चैत १२ गते १२:५०

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ ।

उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदाले आफ्ना भाइसँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गरेका हुन् ।

लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ तर किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरेका छन् । प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाएको छ ।

गत वर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनाशर्त किमसँग भेट्न तयार रहेको बताएका थिए ।

उत्तर कोरियाली समाचार संस्था (केसीएनए) ले उत्तर कोरियाली नेता किम यो जोङले जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ, ‘प्रधानमन्त्री किशिदाले उत्तर कोरियाली नेता किमसँग जतिसक्दो चाँडो व्यक्तिगत रूपमा भेट्ने आफ्नो इच्छा व्यक्त गरेका छन् ।’

उत्तर कोरियाली नेता किम यो जोङले गत महिना जापानी नेतालाई उत्तर कोरिया भ्रमणका लागि प्योङयाङले निमन्त्रणा दिन सक्ने सङ्केत गरेका थिए ।

उनले भने, ‘टोकियोको तर्फबाट ठोस नीतिगत परिवर्तन बिना, गलत बुझाइ र अविश्वासले भरिएको द्विपक्षीय सम्बन्ध सुधार गर्न असम्भव रहेको उत्तर कोरिया–जापान सम्बन्धको इतिहासले पाठ सिकाएको छ ।’

उनले जापान अपहरणको मुद्दामा तल्लीन रहने हो भने किशिदाको सम्बन्ध सुधार्ने आशा पूरा नहुने बताए । किशिदाले केसीएनएको प्रतिवेदनबारे आफूलाई कुनै जानकारी नभएको र त्यसको विषयवस्तुबारे प्रत्यक्ष टिप्पणी नगर्ने सोमबार बताएको तर उत्तर कोरियासँगको उच्चस्तरीय वार्तालाई ‘महत्वपूर्ण’ भनेका थिए ।

सन् १९७० र १९८० को दशकमा भएका अपहरणका घटनालाई सङ्केत गर्दै किशिदाले संसद्मा भने, ‘जापान–उत्तर कोरिया सम्बन्धका लागि अपहरणको मुद्दाजस्ता समस्या समाधानका लागि उच्चस्तरीय वार्ता महत्वपूर्ण छ ।’ यही कारण हामीले उत्तर कोरियासँग प्रत्यक्ष रूपमा पदीय हैसियत अनुसार विभिन्न दृष्टिकोण हरु बनाइरहेका छौं र यसबारे मैले विगतमा बिषयहरूलाई राखिसकेको छु ।

प्रतिक्रिया