शुक्रबार, जेठ ४, २०८१

हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

नेपालखोज २०८० चैत १८ गते १०:४७

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताए । ‘यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँचपास गराउने प्रवृत्ति छ ।’

कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ ।

अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको बताए । ‘पहिला वीरगञ्ज भन्सार कार्यालयमा झण्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँचपास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही घटिरहेको छ’, उनले भने, ‘आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाले सहज ढङ्गले सवारीसाधनमा लागनी नगर्दा पनि सवारीसाधन भन्सारमा नै रोकिएका हुन् ।’

प्रतिक्रिया