बुधबार, वैशाख २६, २०८१

पर्यटकीय राजधानी भित्रने पर्यटकको तथ्याङ्क नै छैन

नेपालखोज २०८० चैत २० गते १५:२२

गण्डकी । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन । पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

‘बर्सेनि पर्यटकको आवागमन वृद्धि हुँदै आएको छ तर हामी पहिलेकै अनुमानका भरमा छौँ’, उनले भने, ‘दैनिक, मासिक या वर्षमा कति विदेशी पर्यटक पोखरा प्रवेश गरे भन्ने आधिकारिक तथ्याङ्क अहिलेसम्म कसैले राख्न सकेको छैन ।’ पर्यटकको स्पष्ट तथ्याङ्क राख्न सकिएमा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रम निर्माणमा सहजता हुने उनको भनाइ छ ।

यस सम्बन्धमा नेपाल पर्यटन बोर्डलगायत राज्यका निकायसँग पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको अध्यक्ष श्रेष्ठले बताए । ‘पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा अब पर्यटकको तथ्याङ्क सङ्कलनका लागि तुरुन्त आवश्यक व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘विमानस्थल र सडक नाकामा सूचना केन्द्रसहितका पर्यटक डेस्क राख्नुपर्छ ।’

अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरा भित्रने नाकामा पर्यटक डेस्क स्थापनाका लागि चासो लिए पनि कार्यान्वयन हुन नसकेको बताए । हवाई यात्राबाट आउने पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भएर पोखरा भित्रन्छन् ।

स्थलमार्गबाट भित्रने पर्यटक पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै पोखरा आइपुग्छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले पर्यटकीय राजधानी आउने पर्यटकको यथार्थ विवरण राख्न नसक्नु कमजोरी रहेको बताए ।

प्रतिक्रिया