मंगलबार, वैशाख १८, २०८१

नाटकलाई बनाइयो चलचित्र

नेपालखोज २०८० चैत २५ गते १४:१३

काठमाडौं । केही समय यता नाटकलाई चलचित्रको स्वरूप दिन थालिएको छ । रङ्गमञ्चमा रुचाइएको नाटक धेरै दर्शकसम्म पुर्याउन चलचित्रमा ल्याइएता पनि त्यसले सफलता भने पाउन सकेको छैन । विसं २०७९ साउन १३ मा ‘पानीफोटो’ प्रदर्शन गरियो । रङ्गमञ्च हुँदै चलचित्रमा अभिनेता बनेका खगेन्द्र लामिछानेले चलचित्र निर्देशन गरे ।

नाटकका समेत निर्देशक रहेका अभिनेता लामिछानेले माओवादी द्वन्द्वको समयको एक परिवारको भोगाइलाई धेरै दर्शकसम्म पुर्याउन चलचित्र बनाएको बताएका थिए । उनले त्यसलाई पुस्तकको स्वरूप पनि दिए ।

‘यो कथा धेरै कहाँ पुग्नुपर्छ भन्ने लाग्थ्यो, यो द्वन्द्वकालमा बेपत्ता भएको छोरा पर्खिरहेका वृद्ध दम्पतिको पर्खाइको कथा हो, मलाई यो चलचित्र बनाए, व्यावसायिक पाटोलाई मैले यसमा सोचिन’, अभिनेता लामिछानेले भने । त्यसयता उनले चलचित्र निर्देशन गरेका छैन ।

अबको एक महिनाभित्र दुई चर्चित नाटक ‘डिग्री माइला’ र ‘बोक्सीको घर’ चलचित्र बनेर आउँदैछन् । ‘डिग्री माइला’ लाई नाटक हुँदा अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए । चलचित्रमा भने रामबाबु गुरुङलाई निर्देशनको कार्यभार सुम्पेर अभिनेता राईले अभिनय गरेका छन् । नाटकको परिकल्पना गर्दा र नाम नै जुराउँदा निर्देशक गुरुङ सहकार्यमा रहेकाले निर्देशकको लागि उपयुक्त रहेको अभिनेता राईले बताए । 

‘हामीले नाटकलाई नै चलचित्रमा ल्याएका छैनौं, डिग्री माइला भन्ने पात्रलाई ठूलो पर्दामा ल्याएका हौँ, मध्यम फरक भएकाले प्रस्तुतीकरणसँगै पटकथामा भिन्नता छ, यो पात्रको मध्यमले देशमा देखिरहेको बेरोजगारीलाई भन्नु पर्छ भन्ने लगेर नायक बनाउँदा नै चलचित्रको सोच आएको थियो, उक्त समयमा हामीले चलचित्र आटन सकेनौँ, अहिले अवस्था प्रतिकूल भएकाले ठुलो पर्दामा आउँदै छ’, अभिनेता राईले भने ।

चैत २० गते प्रदर्शन गरिने चलचित्रमा पात्रलाई समयानुकूल तयार गरेको उनले बताए । उनले मण्डला नाटकघरमार्फत यो नाटकलाई विभिन्न ठाउँमा मञ्चन गरेका छ । यस्तै नाटकमै आधारित रहेर तयार गरिएको अर्को चलचित्र हो ‘बोक्सीको घर’ । यो चलचित्रलाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेका हो भने मुख्य भूमिकामा उनी नै हुन् । उनले नाटक हेरेपछि यसलाई चलचित्र बनाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया