शनिबार, वैशाख २२, २०८१

गाजा युद्ध सातौं महिनामा प्रवेश : युद्धविराम अझै अनिश्चित, मध्यस्थता र वार्ताका लागि सबै पक्ष कायरोमा

नेपालखोज २०८० चैत २५ गते १५:५०

गाजा । इजरायल र हमासबीचको युद्ध आइतबार सातौं महिनामा प्रवेश गरेको छ । युद्धविराम र बन्धक रिहाई सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम तय भएको छ ।

इजिप्टको ‘अल–काहेरा न्यूज’का अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक बिल बन्र्स, कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी र इजिप्टका मध्यस्थकर्ताले इजरायली र हमास प्रतिनिधिमण्डलबीच आइतबार हुने अप्रत्यक्ष वार्ताका लागि इजिप्टका मध्यस्थता गर्नेछन् ।

गाजामा पूर्ण युद्धविराम र इजरायली सेनाको फिर्ताको मुख्य माग रहेको पुष्टि वार्ताअघि हमासले गरेको छ । इजरायली सेनाले गाजामा सात जना सहायताकर्मीको हत्याको आरोपमा दुई जना अधिकारीलाई बर्खास्त गर्न लागेको बताएपछि युद्धविरामको प्रयास भएको हो ।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच भएको वार्ताले इजरायललाई वार्तामा बस्न बाध्य बनाएको छ । राष्ट्रपति बाइडेनले ‘तत्काल युद्धविराम’ गर्न, नागरिकको हत्या कम गर्न र मानवीय अवस्था सुधार गर्न वा त्यसो नगरेमा अमेरिकी सहयोग रोकिन सक्ने पहिलो पटक सशर्त दबाव दिएपछि इजरायल वार्ताका लागि तयार भएको छ ।

गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्धको कारण बनेको अक्टोबर ७ मा हमासका लडाकूले इजरायली भूमिमा गरेको अकल्पनीय आक्रमणमा एक हजार १७० जनाको मृत्यु भएको इजरायली तथ्याङ्कले देखाएको छ । उक्त आक्रमणपछि प्यालेस्टिनी लडाकूहरूले करिब २५० इजरायली र विदेशी बन्धकहरूलाई पनि बन्धक बनाएका थिए जसमध्ये १०० को हाराहारीमा गत नोभेम्बर महिनामा भएको युद्धविरामपछि फिर्ता भएका थिए । बन्धक बनाइएका करिब १३० व्यक्ति गाजामा रहेका र ३० भन्दा बढीको मृत्यु भइसकेको हुनसक्ने इजरायली सेनाले बताएको छ ।

इजरायली सेनाले आइतबार गाजामा आफ्ना थप चार सैनिक मारिएको घोषणा गरेसँगै अक्टोबरको अन्त्यमा स्थलगत कारबाही सुरु भएयता मृतक इजरायली सैनिकको सङ्ख्या २६० पुगेको जनाएको छ ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले ‘क्रूर आतङ्कवादी आक्रमण र भयानक नरसंहार’ बाट सुरु भएको ‘रक्तपातपूर्ण र कठिन युद्ध’ को छ महिना वितेको र यो समयमा इजरायलले हमासविरूद्धको कारबाहीलाई निकै प्रभावकारी बनेको उल्लेख गरेका छन् ।

हमासविरुद्ध इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा कम्तीमा ३३ हजार १३७ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् । दुई हप्ताको इजरायली आक्रमणले ध्वस्त भएको गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को नेतृत्वमा रहेको टोली अन्ततः अस्पताल परिसरमा प्रवेश गरेको छ ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले गाजा सहरको महत्वपूर्ण र ठूलो अस्पताल ‘अब मानव चिहान भएको खाली खोल’ मा परिणत भएको बताएका छन् । उनले डब्ल्युएचओको टोलीले कम्तीमा पाँच वटा शव देखेको बताएको छ ।

बाइडेनले इजिप्ट र कतारका नेताहरूलाई पत्र लेख्दै हमासबाट ‘सम्झौतामा सहमत हुने र त्यसको पालना गर्ने’ प्रतिबद्धता सुनिश्चित गर्न आग्रह गरेका छन् ।

नोभेम्बरमा भएको एक साता लामो युद्धविराममा इजरायलले हिरासतमा लिएका प्यालेस्टिनी कैदी र केही बन्धकको आदानप्रदान भएको थियो । त्यसपछि भङ्ग भएको युद्धविरामले पुनः चर्चा पाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार नेतन्याहूसँग बाइडेनले बिहीबार गरेको कुराकानीमा सम्झौताका लागि आफ्ना वार्ताकारलाई सशक्त बनाउने विषयमा छलफल भएको थियो ।

वासिङ्टनले सम्झौता हुन नसक्नुमा हमासले बिरामी र अन्य जोखिममा रहेका बन्धकहरूलाई रिहा गर्न इन्कार गरेको आरोप लगाएको छ । कतारले विस्थापित गाजावासीको स्वदेश फिर्तीमा इजरायलको आपत्ति नै मुख्य बाधक भएको बताएको छ ।

इजरायललाई अमेरिकाले दिएको ठूलो सैन्य सहायतालाई लिएर यति बेला बाइडेन आफ्नै दल र विपक्षी नेताको तर्फबाट दबाबमा थिए । इजरायलले युद्ध सञ्चालन गरेको विषयमा आलोचनात्मक टिप्पणी गरिए पनि वासिङ्टनले अहिलेसम्म त्यसको लाभ उठाउन सकेको छैन ।

इजरायलका विपक्षी प्रमुख याइर लापिड उच्च अधिकारीसँग वार्ताका लागि शनिबार वासिङ्टनतर्फ प्रस्थान गरेको उनको दलले पुष्टि गरेको छ । यश अतिद्लाई इजरायली मध्यमार्गी दलका रूपमा हेरिन्छ ।

लापिडले विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

उनले सिनेटमा बहुमत प्राप्त दलका नेता चक शुमरलाई पनि भेटनेछन् । गत महिना इजरायलमा मध्यावधि निर्वाचनको आह्वान गर्दै नेतन्याहुको विकल्प खोज्न इजरायली जनतालाई मौका दिनु उपयुक्त हुने उनले बताएका थिए ।

लापिडसहित १० हजार इजरायलीले शनिबार तेल अभिभ र अन्य शहरमा नेतन्याहूविरुद्ध प्रदर्शन गर्दै ‘निर्बाचन’ को माग गरेका थिए । बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिबार भयानक द्वन्द्व अन्त्य हुनैपर्ने बताएका छन् ।

प्रतिक्रिया