आइतबार, वैशाख २३, २०८१

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

नेपालखोज २०८० चैत २९ गते ८:२०

ढोरपाटन (बागलुङ) । जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो । गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाले झोला, सल, सुइटर, टोपी बनाएका छन् । महिला कल्याण आमा समूहमा आबद्ध भएर उनीहरू उद्यममा लागेका हुन् । गाउँपालिकाले दिएको तालिमले आफूहरुको दैनिकी बदलिएको स्थानीय जुनुमाया घर्ती मगरले बताइन् । बिहान बेलुका घरको काम धन्दा गर्ने र दिउँसो कपडा बुन्ने उनले बताइन् । उनले भनिन्, “एक्लैभन्दा समूहमा काम गर्दा फाइदा हुन्छ, अहिले गाउँका दिदीबहिनी मिलेर उद्यम गरेका छौँ, हाम्रो आर्थिक अवस्थामा सुधार आएको छ, सेवाग्राहीको मागअनुसार उत्पादन पनि बढाएका छौँ ।”

वडा नम्बर २ को लघुउद्यमी महिला समूहले झोला उत्पादन गर्दै आएको छ । वडा नम्बर ५ को खुङ्खानीका महिला समूहले सिस्नोको पाउडर, बोङगाखानी लघुउद्यम आमा समूहले भेडाको ऊनबाट काम्लो उत्पादन गरी बजारीकरण गर्दै आएको छ । वडा नम्बर १ को सिर्जनशील लघुउद्यमी समूहले साबुन सरफलगायत सामग्री उत्पादन गर्दै आएको छ ।

स्थानीय स्रोत साधानको प्रयोगबाट आफूहरू उद्यममा लागेको माया विकले बताइन् । विगतमा घाँस–दाउरा र पशुपालनमा व्यस्त उनी अहिले साबुन उत्पादनमा तल्लीन हुन् । महिलाले उत्पादन गरेका सामग्री प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताइन् ।

प्रतिक्रिया