शुक्रबार, वैशाख २१, २०८१

नेपालगञ्जमा हनुमान जयन्ती सुरु

नेपालखोज २०८१ वैशाख ९ गते १३:१५

नेपालगञ्ज । नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा हनुमान जयन्तीको अवसरमा तीन दिने हनुमान जयन्ती सुरु भएको छ ।

अखण्ड रामायण पाठ, अष्टयाम सङ्र्कीतन एवं निशान पुजनसहित सुरु भएको सो हनुमान जयन्तीमा भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिए ।

उनले निरन्तर होम हुने उल्लेख गर्दै काठमाडौं, विराटनगर, बुटवल, सुर्खेत, सल्यान, भारतको बहराइच, सेरावस्ती, गोन्डा लगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने बताए । हनुमान जयन्तीको अन्तिम दिन शोभा यात्रापछि करिब १५ हजारका लागि भण्डारा (भोजन) को समेत व्यवस्थापन गरिएको छ ।

‘श्रीरामको कथा प्रवचन भजनर्कीर्तन जहाँ हुन्छ त्यहाँ कुनै नयाँ रुपमा हनुमानजीको दर्शन हुन्छ’, उनले भने । हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस्तो पवित्र स्थानमा भौतिक संरचनाको विकास नभएको गुनासो गर्दै ३० वर्षदेखि गुरुजीले चरण राखेर गौशालाको रुपमा विकास भएको बताए ।

‘अहिलको कलियुगमा हनुमानजीको चमत्कार जहाँ पनि हुन्छ’, उनले भने । विगतको फोहर व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ रहेको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तर ऋषिमुनीको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रुपमा रहेकाले यसको महिमा बढेको महन्त गिरीले जानकारी दिए ।

हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढदै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुगेको उल्लेख गरे । उनले भारतदेखि समेत साधुसन्तको आगमन हुने जानकारी दिँदै वर्सेनि हनुमान जयन्तीलाई आस्थाको केन्द्रका रुपमा मनाउन थालिएको बताए । पछिल्लो समय नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक साताको सोमबार आरती हुँदै आएको छ ।

प्रतिक्रिया