शनिबार, वैशाख २२, २०८१

लेनिन जन्मजयन्ती र नेकपा स्थापना दिवसका अवसरमा प्रमको शुभकामना

नेपालखोज २०८१ वैशाख १० गते १०:०५

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज परेको समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक विज्ञप्तिमार्फत उनले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरू तथा जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

साथै सो विज्ञप्तिमार्फत उनले यस अवसरमा सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र दीर्घजीवनको कामना पनि गरेका छन् ।

लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७५ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले वर्ग सङ्घर्ष र अन्तरसङ्घर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिष्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले कम्युनिष्ट आन्दोलनले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको पनि स्पष्ट गरेका छन् ।

प्रतिक्रिया