सोमबार, वैशाख २४, २०८१

कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’

नेपालखोज २०८१ वैशाख १२ गते १०:२६

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौंबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर मङ्गलबार काठमाडौं आएका हुन् ।

मङ्गलबार अपराह्न काठमाडौं ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । उनी मङ्गलबार राति राष्ट्रपति पौडेलले आयोजना गरेको राजकीय भोजमा सरिक भएका थिए। कतारी अमिरले आज प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने र शिक्षा, खेलकुदलगायत क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौताा हस्तक्षर गर्ने कार्यक्रम छ ।

काठमाडौंबाट प्रकाशित प्रमुख अखबारले राष्ट्रपति पौडेल र कतारी अमिरबीचको भेटवार्तालाई प्रमुखताका साथ छापेका छन् । अधिकांश अखबारले सो भेटवार्तामा इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न राष्ट्रपति पौडेलले गरेको आग्रहलाई समाचारको मुख्य विषय बनाएका छन् ।

देशको सबैभन्दा पुरानो गोरखापत्र’ दैनिकले प्रथम पृष्ठमा राष्ट्रपति पौडेल र अमिर थानीबीच भेटवार्ता भेटवार्ता भएको र त्यसबाट बृहत साझेदारीको मार्ग प्रशस्त भएको सम्बन्धी समाचार प्रकाशन गरेको छ । उक्त भेटमा राष्ट्रपति पौडेलले नेपाल र कतारबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारबीचको आपसी सम्बन्ध र जनसम्बन्धको विकास र विस्तारमा योगदान पुयाउने बताएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया