बुधबार, जेठ २, २०८१

बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

नेपालखोज २०८१ वैशाख १७ गते ८:२२

गोरखा । भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ ।

धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ, डाँडागाउँ र नयाँबस्तीका भूकम्पपीडितलाई पुनःस्थापना गर्न सुरु गरेको झण्डै आठ वर्ष बितिसक्दा पनि अझैसम्म बस्ती निर्माण हुन सकेको छैन । स्थानीयकै पहलमा २०७३ पुसदेखि लामाचौरमा बस्ती निर्माण थालिएको भए पनि बजेटको अभावमा काम सम्पन्न हुन नसकेको एकीकृत मिलनबस्ती पुनःनिर्माण तथा विकास समितिका अध्यक्ष सुककुमार श्रेष्ठले जानकारी दिए

‘सरकारले उपलब्ध गराउने रु तीन लाख अनुदानसहित अपुग रकम घरधनीबाट पनि सङ्कलन गर्ने र केही आर्थिक सहयोग जुटाएर बस्ती निर्माण गर्ने योजना बनाइएको थियो’, उनले भने, ‘पहिलो किस्ताको रकम प्राप्त गर्न ढिलाइ हुने भएपछि ऋण नै खोजेर काम थाल्नुपर्ने बाध्यता भयो, अहिले ऋण पनि बढ्दै गएको छ, बस्ती निर्माण पनि सम्पन्न गर्न सकिएको छैन ।’

बस्ती निर्माण गर्न लामाचौरमा एक सय पाँच रोपनी जमिनमा प्रतिपरिवारलाई करिब ६ आना जग्गा पुग्ने गरी एक सय ३८ घर निर्माण थालिएको थियो । ‘निर्माण थालिएकामध्ये ९० घर निर्माण भइसकेका छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘पचास घरमा अहिले स्थानीय बस्न थालिसकेका छन् ।’ उनले बाँकी रहेका घर निर्माणकै प्रक्रियामा रहेको बताए ।

प्रतिक्रिया