बुधबार, जेठ २, २०८१

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

नेपालखोज २०८१ वैशाख १७ गते १२:५७

बेइजिङ । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार भएको एएफपीका पत्रकारले बताएका छन् ।

एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेको थिए । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको भाग्य बढाउनका लागि काम गर्न उनले प्रधानमन्त्री ली कियाङसहित शीर्ष अधिकारीहरूसँग भेट गरेका थिए ।

सोही दिन चीनको तथ्याङ्क सुरक्षा आवश्यकतारू पूरा गर्ने टेस्लाको स्थानीयरूपमा उत्पादित मोडेलहरू विद्युतीय सवारीहरूमा सूचीबद्ध भएका छन् । मस्क दिउँसो एक बजे बेइजिङ क्यापिटल विमानस्थलमा आफ्नो निजी जेटमा सवार भएका थिए ।

ब्लुमबर्गका अनुसार अमेरिकी विद्युतीय कार कम्पनी टेस्ला नक्सा र नेभिगेसन सुविधाहरूका लागि टेक टाइटन बाइडुसँग मिलेर चीनमा आफ्नो सहायक ड्राइभिङ प्रविधिको उपयोग गर्नका लागि सरकारको स्वीकृति नजिक पुगेको छ ।

बिवाइडीजस्ता घरेलु कम्पनीहरूसँग तीव्र प्रतिस्पर्धा गरे पनि टेस्ला चीनमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमध्ये एक बनेको छ । यद्यपि उसले कडा तथ्याङ्क र गोपनीय कानूनको पालना गर्न आवश्यक ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी)’ जस्ता सुविधाहरूका साथ आफ्नो बिक्रीलाई बढाउन कोसिस गरिरहेको छ ।

चाइना एसोसिएसन अफ अटोमोबाइल्स मेनुफेक्चरर्स (सिएएएम) ले सन् २०२३ नोभेम्बरदेखि राष्ट्रिय कम्प्युटर सुरक्षा नियामकसँग मिलेर सवारी साधनको व्यक्तिगत जानकारी र कारको बाहिरी मुखाकृतिको रेकर्डिङलगायत कसरी तथ्याङ्क सङ्कलन र प्रशोधन गर्ने भन्नेबारे परीक्षण गरेको बताएको छ ।

प्रतिक्रिया