मंगलबार, जेठ ८, २०८१

आतिथ्य सेवामा २५ हजार श्रमिकलाई रोजगारी

नेपालखोज २०८१ वैशाख १९ गते १२:००

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध छन् । अर्बौँको लगानी रहेका ती होटलमा झण्डै २५ हजार श्रमिकले रोजगारी पाएको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए ।

उनका अनुसार अधिकांश मझौला तथा साना होटल महासङ्घमा समेटिएका छन् । ‘पोखराको लेकसाइडबाहेक अन्यत्रका पर्यटकीयस्तरीय होटल पनि महासङ्घमा आबद्ध छन्’, उनले भने, ‘सबैभन्दा बढी नवलपुरमा करिब दुई हजार होटल व्यवसायी महासङ्घमा जोडिएका छन् ।’

कोभिड–१९ महामारीका बेला गरिएको जिल्लागत अध्ययनले आठ हजार बढी होटल गण्डकी प्रदेशमा सञ्चालनमा रहेको पाइएको अध्यक्ष चोखालले बताए ।

‘आतिथ्य सेवामा झण्डै २५ हजार जनशक्ति परिचालित रहेको हाम्रो अनुमान छ’, उनले भने, ‘कोभिड–१९ का बेला केही मात्रामा श्रमिकको कटौती भए पनि पर्यटकीय क्षेत्रमा नयाँनयाँ होटल खुलिरहेकाले रोजगारी पनि थपिएको छ ।’ पर्यटकीय राजधानी पोखरामा रहेका पृथ्वी होटल व्यवसायी समिति, पोखरा नगर रेष्टुराँ एण्ड बार एशोसिएसनलगायत संस्था पनि महासङ्घमा आबद्ध छन् ।

प्रतिक्रिया