शुक्रबार, जेठ ४, २०८१

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

नेपालखोज २०८१ वैशाख २१ गते १२:३५

खजुरा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको छ । वर्षायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नाला सफाइ गर्न थालिएको हो ।

विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाइ गर्ने गरिए पनि गत वर्षदेखि भने वर्षायामअगावै आमरुपमा सबै नाला सफाइ गर्न थालिएको छ । मुख्य नालाको अन्तिम बिन्दु (आउटलेट) बाट सफाइ थालिएको छ । ‘अन्तिम बिन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सजिलो हुन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका छौँ’,

नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाइ शाखाका प्रमुख वातावरण इञ्जिनीयर प्रकाश डिसीले भने, ‘बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालासहित अन्य नाला पनि सफाइ गर्छौँ’, सफाइ गर्नसक्ने ठाउँमा स्काभेटर तथा डोजर (जेसिबी) ले र गर्न नसक्ने ठाउँमा मान्छे लगाएर सफाइ गरिने डिसीले बताए ।

नगर प्रमुख प्रशान्त विष्टका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नाला सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि गत वर्षदेखि बर्खाअगावै सफाइको काम सक्ने उद्देश्यका साथ नाला सफाइ गर्न सुरु गरिएको छ ।

प्रतिक्रिया