शनिबार, जेठ ५, २०८१

जापानका परराष्ट्रमन्त्री आज आउँदै

नेपालखोज २०८१ वैशाख २३ गते ७:२९

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ ।

नेपाल–जापान सम्बन्ध

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आएका थिए ।

नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान–नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो ।

नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ ।

प्रतिक्रिया