सोमबार, जेठ ७, २०८१

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत

नेपालखोज २०८१ वैशाख २७ गते १३:५१

सुरुङ्गा (झापा) । रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् ।

वर्षौँदेखि झापामा देखिएको मानव– हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहारका लागि केरासहित विभिन्न प्रजातिको घाँससमेत लगाइएको छ । यति गर्दा पनि जङ्गली हात्तीले बस्ती प्रवेश गरेर मच्चाउने उपद्रो भने रोकिएको छैन ।

हात्ती नियन्त्रणकै लागि हालसम्म झापाका विभिन्न ठाउँमा ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा जडान गरिएको सोलार अफसेट फेन्सले हात्ती नियन्त्रण गर्न खोजिए पनि पूर्ण प्रभावकारी भने देखिएको छैन ।

हात्ती नियन्त्रणका लागि २७ विभिन्न सामुदायिक वन क्षेत्रमा जडान गरिएको सोलार अफसेट फेन्स राष्ट्रिय प्रकृति संरक्षण कोषले डिभिजन वन कार्यालयको रोहवरमा हालै भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदशी र मेची नगरपालिकाअन्तर्गत रहेका वन समूहलाई हस्तान्तरणसमेत गरेको छ । कोषले हस्तान्तरण गरेका विद्युतीय सौर्य तारबारका कारण हात्ती नियन्त्रणमा केही सहज भए पनि झापावासी हात्तीको समस्याबाट भने पूर्णरुपमा मुक्त हुन सकेका छैनन् ।

हात्ती नियन्त्रणका लागि हात्ती प्रवेश गर्ने प्रमुख गौडा पूर्वी सीमा मेची खोलाको तटीय क्षेत्रमा रहेको सामुदायिक वन क्षेत्रमा विद्युतीय सौर्य तारबार गरिए पनि यहाँ रहेका सामुदायिक वनमा बस्दै आएका हात्तीले बस्तीमा पसेर दिनहुँजसो उपद्रो मच्चाउने गरेका छन् ।

हात्तीको उपद्रोका कारण सात विदेशी नागरिकसहित ६७ जनाले झापामा ज्यानसमेत गुमाएका छन् । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार विसं २०६८ यता मात्रै ६० जना नेपाली र सात विदेशी नागरिकले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका हुन् ।

हात्तीले प्रायःजसो मच्चाउने उपद्रोकै कारण झापामा हात्तीसमेत मारिने गरेका छन् । हात्ती कसले मार्यो भन्ने पुष्टि हुन नसक्दा हात्ती मार्ने कार्यमा संलग्नलाई कारबाही हुन नसकेको वन कार्यालयका अधिकृत पाठकको भनाइ छ । झापामा हालसम्म २० हात्ती मृत फेला परेका छन् । कालगतिले मरेका हात्तीको सङ्ख्या भने न्यून रहेको पाठकको भनाइ छ ।

हालैमात्र झापाको मेची नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र ४० वर्षको बयष्क हात्ती मृत फेला पर्यो । मृत भेटिएको हात्तीको पुच्छर, दाह्रा नभएकाले हात्तीलाई तस्करले मारेको हुनसक्ने डिभिजन वन कार्यालयको निष्कर्ष रहेको पाठकको भनाइ छ ।

प्रतिक्रिया