सोमबार, जेठ ७, २०८१

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या

नेपालखोज २०८१ वैशाख २७ गते १४:०४

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रदर्शकलाई हिँडडुल गर्न समस्या भएको छ ।

बाटो देखाउन पदमार्गमा राखिएका ‘मार्किङ पोल’ कतै ढलेका र कतै भाँचिएका कारण लार्के बजारदेखि माथि हिमपात परेका बेला गन्तव्यमा पुग्न पर्यटक र पथप्रदर्शकलाई कठिन हुने गरेको हो ।

‘हिमपातका बेला पदमार्ग पत्ता लगाउन पथप्रदर्शकले ‘मार्किङ पोल’को सहायता लिनुपर्छ’, ‘’लामो समयदेखि मनास्लु क्षेत्रमा पथप्रदर्शकका रुपमा काम गर्दै आएका सूर्य खनालले भने, ‘तर लार्के बजारमाथि राखिएका मार्किङ पोल ढलेको, भाँचिएको र अक्षर मेटिएको अवस्था छ ।’

हिमपात नपरेका बेला बाटो देख्न सकिने भएकाले आवतजावत गर्न गाह्रो नहुने भए पनि हिमपातले बाटो पुरिएका बेला ‘मार्किङ पोल’ बिनाअनुमानका भरमा जोखिम मोलेर पर्यटकलाई पथप्रदर्शकले हिँडाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । धर्मशाला, लार्केपासदेखि भिम्ताङसम्मका पदमार्गमा मार्किङ पोल अस्तव्यस्त रहेको उनले बताए ।

पछिल्लो समय विदेशी पर्यटकको अत्यधिक रोजाइमा पर्दै आएको मनास्लु पदमार्गमा दैनिक सयौँ विदेशी पर्यटकले पदयात्रा गर्ने गर्दछन् । ‘मनास्लु पदमार्ग आफैँमा पनि जोखिमयुक्त पदमार्ग नै हो’, उनले भने, ‘जोखिमपूर्ण यात्रा गर्नुपर्ने पदमार्गमा झनै ‘मार्किङ पोल’ नहुँदाको कठिनाइ पथप्रदर्शकलाई थपिएको छ ।’

प्रतिक्रिया