सोमबार, जेठ ७, २०८१

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

नेपालखोज २०८१ वैशाख २८ गते ९:२२

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र देशको समृद्धिका लागि योगदान पुर्याइरहेका नेपालीको कथा दर्शाउँछ ।

अष्ट्रेलियाली कलाकार तथा वृत्तचित्र फोटोग्राफर जो रयान्खनले सृजना गरेका उक्त प्रदर्शनीलाई अष्ट्रेलियाली दूतावासले आर्थिक सहयोग गरेको हो । प्रदर्शनीमा निजी र अष्ट्रेलिया सरकारको छात्रवृत्तिमा अष्ट्रेलियामा आर्जन गरेको सीप र ज्ञान नेपाल फर्केर सिपालु उद्यमी, सामाजिक कार्यकर्ता, ‘सेफ’ वा ‘डिजाइनर’का रूपमा स्वदेशमा नै सम्भावनाको खोजी गरेका वास्तविक कथा समेटिएका छन् ।

यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजदूत भोल्कले प्रदर्शनीबाट विदेशमा गएर अध्ययन गर्ने र काम गर्ने सोच बनाएका अरु युवालाई नेपाललाई नै आफ्नो अन्तिम गन्तव्य बनाउन प्रेरित गर्ने बताए । उनले भने, ‘नेपाली विद्यार्थीको उपस्थितिले अष्ट्रेलिया खुसी हुन्छ तर व्यावसायिक सीपयुक्त नेपालीहरू नेपालको दुरगामी समृद्धि र प्रगतिका लागि यहाँ आएर उपलब्ध सम्भावनाहरूको खोजी गर्न कति आवश्यक छ भन्ने कुराका बारेमा पनि जानकार छ ।’

राजदूत भोल्कले भने, ‘प्रदर्शनीमा समावेश एघार व्यक्तिहरूको प्रयास, निरन्तको लगाव र सफलताको उत्सव मनाउँछु । उनीहरुको कथाले अरुलाई पनि विश्वभरबाट सीप र अनुभव आर्जन गर्ने र सम्बन्धहरू स्थापना गर्ने र ती सबैलाई नेपालमा ल्याएर प्रयोग गर्ने प्रेरणा मिल्छ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रतिक्रिया