मंगलबार, असार १२, २०८१

बनेका धारा भत्किन थाले तर पानी आएन

नेपालखोज २०८१ वैशाख ३० गते १४:४३

बलेवा (बागलुङ) । खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको जोहो गर्छन् । खडेरीले मूल सुक्नुका साथै वर्षौँदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन् ।

‘पानी खोज्न हिँड्दा विद्यालय समयमा पुग्न सकेका छैनौँ’, कक्षा ८ मा पढ्ने सोनम नेपालीले भने, ‘धारामा पानी आउन छाडेको छ । भएका धारा पनि भत्किन थालेका छन् ।’ पानी सुकेपछि तातोपानी भन्ने खोल्सामा पुगेर पानी ल्याउने गरेको उनले बताए ।

सोनमका छिमेकी सोनु नेपालीले पनि पानी खेप्न जाँदा गृहकार्य गर्न नपाएको बाध्यता सुनाए । धारोमा पानी नआएपछि कुवाबाट पानी खेपेर ल्याएको उनको भनाइ छ ।

विद्यालयका बालबालिका मात्र होइन, स्थानीय अधिकांशले पानी खेप्न हैरानी भएको गुनासो गरेका छन् । स्थानीय कृष्णमाया थापाले भने, ‘खडेरीले हैरान बनायो । पानीका मुहान सबै सुकेका छन् । धारा भाँचिन थालेका छन् ।’ खडेरीसँगै जङ्गलमा लागेको डढेलोले कैयौंँ पानीका मूल सुकेर समस्या आएको स्थानीय बताउँछन् ।

काम भ्याएर कार्यालय जानेलाई पनि पानीको सास्ती पिरोलेको छ । ‘धारोमा पानी छैन, खेपेर ल्याउँदा काम भ्याउनै मुस्किल छ’, स्थानीय शिक्षक यमुना शर्माले भने, ‘यो वर्ष त पानीको हाहाकार नै भयो । डढेलोका कारण पनि थप समस्या भएको हुनसक्छ ।’

दश वर्षअघि कुश्मीसेरामा ‘एक घर एक धारा’ अभियान सञ्चालन भएको थियो । पाइप गाडिसकेपछि जग्गा विवादले उक्त योजना अलपत्र बनेको बागु्लुङ नगरपालिका–११ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताए ।

पानी अभावमा बारीमा लगाइएका सागपातसमेत ओइलिएका छन् । पानीको समस्याले तरकारी अभाव भएपछि तराईका साथै पोखराबाट झिकाउनु परेको स्थानीय साना व्यवसायीले गुनासो गरेका छन् ।

प्रतिक्रिया