आइतबार, असार ३, २०८१

आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति

नेपालखोज २०८१ जेठ १० गते १४:५५

त्रिवेणी । रुकुमपश्चिममा यस वर्ष आगलागीबाट ३५ घर तथा गोठ नष्ट भएका छन् ।

हिउँदयाम सुरु भएदेखि हालसम्म जिल्लामा २९ घर र छवटा गोठ गरेर ३५ संरचनामा आगलागी भएको हो।

आगलागी भएका घरगोठ पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । आगलागीका कारण एक महिलाको मृत्यु भएको थियो भने आगो निभाउने क्रममा दुई महिला घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।

उनका अनुसार मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा आगलागीबाट बढी घर क्षति भएका छन् । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा कागजात जलेर नष्ट भएका छन् । पैतीस घरमा आगलागी हुँदा करिब ४९ लाख ५२ हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

गत शनिबार मात्रै मुसीकोट–३ माछमीका गोर्खबहादुर केसीको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा २५ लाख बढीको क्षति भएको थियो ।

उनको घरमा भएको सुन, नगद, तामा, कासका भाँडावर्तन, अन्नपात जलेर नष्ट भएका थिए । विद्युत् सर्टलगायत व्यक्तिको कमजोरीका कारण आगलागी हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

प्रतिक्रिया