पचपन्न वर्षदेखि सुदूरमा देउडा खेलाउँदै रामदत्त जोशी
दोधारा चाँदनी (कञ्चनपुर) । देउडिया (गीतकार) रामदत्त जोशी ‘बर्तोलो’ सुदूरपश्चिमका चर्चित देउडिया हुन् । पचहत्तर वर्षीय जोशीको जोश युवा अवस्थाको जस्तै छ । बैतडीको दशरथचन्द नगरपालिका–९ मा जन्मिएका उनी देउडा खेल्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने देउडा कार्यक्रममा पुग्ने गरेका छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा कार्यक्रम आयोजना गरिएको थियो । ती सबै ठाउँमा देउडा खेलाउन पुगे जोशी ।
बैतडीका देउडा कार्यक्रममा सहभागी भएर उनले देउडा खेल्नका लागि ग्वाल्लेकबाट महेन्द्रनगर पुगे । देउडा खेलाउन माहिरजोशी सम्भव भएसम्म सुदूरका सबै बस्तीमा पुग्ने गरे । छब्बिस वर्षको उमेरदेखि देउडा खेल्न सुरु गरेका जोशी सुदूरपश्चिमका नौवटै जिल्ला पुगेर देउडा खेलाउने गरे । ‘१४र१५ वर्षको उमेरमा गोठालो जाँदा गीत गाउँथे देउडा खेलाउन थालेको २६ वर्षको उमेरदेखि हो’, जोशीले भने, ‘मैले सुदूरमा देउडा खेलाउन थालेको ५५ वर्ष भइसक्यो ।’ देउडा खेल्दा छुट्टै आनन्द प्राप्त हुने जोशीको भनाइ छ ।
‘मान्छे बूढो भए पनि मन बूढो हुँदैन’, गीतकार जोशीले भने, ‘१६ वर्षको उमेरदेखि देउडामा रमाउन थालेँ, आनन्द लाग्छ सबैसँग भेट हुन्छ । उहाँले देउडा खेल्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने गरेको बताए । देउडाले नयाँसँग परिचय हुने र भेटघाट हुने अवसर मिल्ने भएकाले आफूलाई यसैमा आनन्द लाग्ने गरेको जोशीले बताए ।
‘देउडा भनेको मनोरञ्जनका लागि गाउने गीत हो’, उनले भने, ‘आफू दुःखमा भए पनि देउडा नजिक पुग्यो भने आनन्द मिल्छ ।’ देउडा मनोरञ्जन मात्रै नभएर यसबाट ज्ञानगुनका कुरासमेत जान्न सकिने उनको भनाइ छ । देउडामा श्रीकृष्ण लीला, रामलीला वा गाउँको कथालाई गीतका माध्यमबाट गाउने गरेको जोशीले उल्लेख गरे । ‘गीतमार्फत सवालजवाफ हुँदा पुराना कुराहरु जान्ने अवसर मिल्छ । साथै मनोरञ्जन हुने, हाम्रो पुर्खा र देवीदेवताका बारेमा जानकारी लिने माध्यम पनि देउडा बनेको छ ।’
देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवै रुपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलोघेरामा एकआपसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालका आधारमा डेड पाइला अगाडि र डेढपाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरु बताउँछन् ।
देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ । देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहरी हुने गर्दछ । यसमा एउटाले प्रश्न सोध्ने र अर्कोले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ । देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गरेको छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौँसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुरुष, युवा पाका सबै पुस्ताले खेल्न पाउँछन् । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ ।
प्रतिक्रिया