मंगलबार, असोज १, २०८१

सङ्घको शीर्ष पदका लागि महिला उम्मेदवार पाउन कठिन : युरोपेली आयोग प्रमुख

नेपालखोज २०८१ भदौ १९ गते १८:१५

ब्रसेल्स, बेल्जियम । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली सङ्घमा लैङ्गिक समानता कायम गर्न सदस्य राष्ट्रहरूबाट शीर्ष पदका लागि महिला उम्मेदवार प्राप्त गर्न कठिन भएको बताएकी छिन् ।

भोन डेर लेयनले जुनमा भएको चुनावपछि आफ्नो नयाँ प्रशासनमा आयुक्तको पदका लागि पुरुष र महिला दुबैलाई मनोनित गर्न युरोपेली सङ्घका देशहरूलाई आग्रह गरेकी हुन् ।

तर अधिकांश सदस्य राष्ट्रले उनको अनुरोधलाई बेवास्ता गरेका छन् । २७ सदस्य राष्ट्र रहेको सङ्घमा केवल नौ महिलालाई मनोनित गरिएको छ, जसमा एस्टोनियाका पूर्व प्रधानमन्त्री काजा कल्लासलाई ब्लकको शीर्ष कूटनीतिज्ञको रूपमा समावेश गरिएको छ।

‘यो कठिन यात्रा हो तर यसले मेरो दृढता र संकल्पलाई परिवर्तन गर्दैन’, भोन डेर लेयनले भनिन् ।’ अहिलेसम्म हामी महिलाहरु दोहोरो अंकमा छौं, तर मैले सबै सम्भावित उम्मेदवारहरू पाएको छैन । प्रक्रिया जारी छ ।’

जुलाईमा आयोगको प्रमुखको रूपमा दोस्रो कार्यकाल सुरु गरेकी भोन डेर लेयनले अर्को हप्ता शीर्ष पदका लागि आफ्नो प्रस्तावित टोली गठन गर्ने अपेक्षा गरिएको छ । उनले क्षमताको आधारमा आयोगको पदाधिकारी चयन गर्नेमा जोड दिए ।

त्यसपश्चात युरोपेली संसदले प्रत्येक उम्मेद्वारलाई जाँच गरी अनुमोदन गर्दै लैङ्गिक सन्तुलन कायम गर्ने प्रयास गर्नुपर्नेछ ।

प्रतिक्रिया