मेलम्ची बाढिपीडितले तीन महिनादेखि पाएका छैनन् अनुदानबापतको रकम
सिन्धुपाल्चोक । यहाँका मनसुनजन्य विपद् प्रभावित तथा बाढिपीडितले विगत तीन महिनायता अनुदानबापतको रकम पाउन सकेका छैनन् । लाभग्राहीले घर निर्माण गरेबापत अघिल्लो आर्थिक वर्षमा पाउनुपर्ने रकमसमेत नपाउँदा समस्या भएको गुनासो छ ।
आवास निर्माण सुरु गरे पनि अनुदानबापतको किस्ता रकम भुक्तानी हुन नसक्दा मनसुनको समयमा थप समस्या भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको भनाइ छ । जिल्ला प्रशासन कार्यालयका विपद् सम्पर्क व्यक्ति रविराज धितालले २०७७ मा निर्माण भएको कार्यविधिमा सुधार गरी एकीकृत कार्यविधि निर्माण गर्न थालिएको र सो काम नसकिएकाले भुक्तानीमा समस्या भएको बताए । पश्चिम नेपालका भूकम्पपीडितलाई समावेश गरेर नयाँ एकीकृत कार्यविधि निर्माण गर्ने र सोहीअनुसार आवास निर्माण गरी अनुदान रकम उपलब्ध गराउने भन्दै प्राधिकरणबाट नै भुक्तानी रोकिएको उहाँले बताउनुभयो । कार्यविधिको टुङ्गो लाग्नेवित्तिकै समस्या समाधान हुने धितालको भनाइ छ ।
प्राधिकरणले २०७७ मा बनाएको मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधिबमोजिम कायम भएका लाभग्राहीको तथ्याङ्कअनुसार यहाँ एक हजार आठ सय ९३ परिवार मनसुनजन्य विपद्बाट प्रभावित छन् । त्यसअघिका मनसुनजन्य विपद्पीडितको यकिन तथ्याङ्क भने छैन ।
विसं २०७७ मा निर्माण गरिएको कार्यविधिबमोजिम २०७७ जेठ पछाडि घटेका विपद्जन्य घटनाबाट प्रभावितका आवास पनःनिर्माण तथा पुनःस्थापनाका लागि हिमाली जिल्लामा रु पाँच लाख, पहाडी जिल्लामा रु चार लाख र तराईका जिल्लामा रु तीन लाख उपलब्ध गराउने व्यवस्था भए पनि पीडितले हालसम्म सो रकम पाउन सकेका छैनन् ।
सिन्धुपाल्चोक हिमाली जिल्लाभित्र पर्दछ । यसरी दिइने रकममा सङ्घीय सरकारबाट नगरपालिकाको हकमा ५५ र गाउँपालिकाको हकमा ६० प्रतिशत, प्रदेशले ३० प्रतिशत र गाउँपालिकाबाट १० र नगरपालिकाबाट १५ प्रतिशत बेहोर्ने गरी कार्यविधिमा उल्लेख छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय तहले बाढी प्रभावितको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा आवश्यक निर्णयका लागि पठाए पनि कार्यविधिका कारण पीडितको अनुदान रकम भुक्तानी नआएको जानकारी दिइएको बताउनुभयो । उहाँले जिल्ला प्रशासनमार्फत प्राधिकरणसँग समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए ।
विसं २०७८ असार १ गतेको बाढी र त्यसपछि मेलम्ची तथा इन्द्रावती नदिमा आएको बाढीले घर बगाएको तीन वर्ष वितिसक्दा पनि पुनःनिमार्णको लागि रकम नपाउँदा समस्या भएको बाढीपीडित मेलम्ची ११ का हरिशरण श्रेष्ठको गुनासो छ । “किस्ताबन्दीमा रकम दिने कुरा थियो तर नियमित भुक्तानी नहुँदा ऋण गरेर आवास निर्माण गरेका धेरै पीडित समस्यामा छौँ”, उनले भने ।
मेलम्ची नगरपालिका–११ फट्टेकी अस्मिता दनुवारको पनि सोही असार १६ गतेको बाढीले घर बगाएको थियो । भूकम्पपश्चात ऋणकर्ज गरेर बनाएको घर ऋण तिरेर नसक्दै बाढीले बढाएपछि उहाँको परिवार टहरोमा बस्न बाध्य छ । घर निमार्णको प्रक्रिया थाले पनि समयमै किस्ता नआउँदा लघुवित्तबाट लिएको ऋणको ब्याज तिर्दै हैरान भएको अस्मिताको गुनासो छ ।
कार्यविधिबमोजिम कायम भएका लाभग्राहीको हालसम्म पनि पूर्ण रूपमा आवास पुनःनिर्माण भइसकेका छैनन् । सुरक्षित आवास बनाउन जग्गा नभएका लाभग्रीलाई जग्गा खरिदबापत लिखतको आधारमा थप रु तीन लाखसम्म उपलब्ध गराउनेसमेत कार्यविधिमा उल्लेख छ तर जग्गा खरिदको लागि आउने रु तीन लाख र घर बनाउन आउने रु पाँच लाखले नयाँ ठाउँमा घर बनाउन गाह्रो भएको र सोही रकम पनि समयमा नपाउँदा थप समस्या झेल्नु परेको मेलम्चीका टासी शेर्पाको गुनासो छ ।
विसं २०७७ सालमा प्राधिकरणबाट कार्यविधि जारी भएलगत्तै सिन्धुपाल्चोकका धेरै स्थानका मनसुनजन्य विपद् प्रभावितलाई कार्यविधिबमोजिम लाभग्राही कायम गर्ने काम सुरु भएको थियो । तथ्याङ्कअनुसार यहाँ एक हजार आठ सय ९३ जना लाभग्राही छन् । तीमध्ये एक हजार ४९ जनाले अनुदान सम्झौता गरी आवास पुनःनिर्माणको काम सुरुआत गरेका छन् । त्यसमध्ये पाँच सय जनाले डिपिसी तहसम्म पूरा गरिसकेका छन् भने दुई सय ३० जनाले पुनःनिर्माण सकेका छन् तर रकम भुक्तानी भने हुन सकेको छैन । हालसम्म पहिलो किस्ता वापतको ५० हजार एक हजार ४९ जनालाई दोस्रो किस्ता चार सय ६ र तेस्रो किस्ता एक सय ६ जनालाई उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया