मंगलबार, असोज २९, २०८१

घन्किनै छाडे तीजमा मादल

नेपालखोज २०८१ भदौ २० गते २०:४४

घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका–८ किकुष्मा रोकाया मादल बजाउनमा सिपालु छिन् । तीजमा रमाइलो गर्दा वा देउसीभैलो खेल्दा उनको जिम्मा मादल बजाउने र गीत गाउने हुन्थ्यो । तीजको बेलामा सबै जम्मा भएर मादल बजाउँदै नाचगान गरेको उनलाई सम्झना आउँछ । तीज आउनभन्दा महिनादिन अघिदेखि नै महिला जम्मा भएर रमाइलो गरेको सम्झँदै उनले भनिन्, ‘अब पहिलेको जस्तो तीजको त्यो रौनक नै हरायो ।’

धान रोपेर सकिने बित्तिकै तीजका भाकामा नाच्ने गरेको घोडाघोडी–८ की ६५ वर्षीय तिलादेवी विष्टलाई पनि सम्झना छ । ‘साउन महिनादेखि नै मादलसँगै तीजका भाका गुञ्जन थाल्दथे’, विष्ट भनिन्, ‘अब त तीज आयो गयो केही थाहा हुँदैन ।’ पछिल्लो समय तीज मनाउने शैली परिवर्तन हुँदै गएको उनको बुझाइ छ ।

मौलिक तीजका भाकाहरु हराउँदै गएको घोडाघोडी नगरपालिका–१ का अध्यक्ष घनश्याम ओझा बताए । ‘तीज आउनलाग्दा गाउँघरमा मादल बज्न सुरु हुन्थे’, ओझा भने, ‘अहिले डिजेहरू बजेका हुन्छन् मादलका भाका त सुन्न नै पाइँदैन ।’ हराउँदै गएका चाडपर्वका मौलिकताहरूलाई जोगाउनु सबैको दायित्व रहेको बताउँदै उनले भने ।

चाडपर्वको मौलिकता हराएसँगै यसको प्रत्यक्ष असर व्यवसायीहरुमा परेको छ । डिजेका कारण व्यवसायमा असर पुगेको लम्कीचुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादी बताए । ‘तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो’, उनले भने, ‘मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले तीज आइसक्यो एउटा पनि मादल बेचेको छैन ।’ डिजेले मादल लोप भइसकेको छ जस्ले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ मादल बनाएर राखेको छु बिक्री हुँदैन ।

तीजको मौलिकतालाई जोगाउनका लागि केही प्रयासहरू पनि भइरहेका छन् । केही दिनअघि घोडाघोडी महिला सञ्जालले मौलिक तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो । घोडाघोडी मन्दिर नजिक महिलाहरू जम्मा भएर मादल बजाएर तीज गीत गाउँदै रमाइलो गरेको सञ्जालका अध्यक्ष रमा आचार्यले बताए ।

प्रतिक्रिया