बिहीबार, कार्तिक २९, २०८१

नाकामा सावधानी नअपनाउँदा एमपक्सको जोखिम

नेपालखोज २०८१ भदौ २६ गते २१:१४

वेदकोट (कञ्चनपुर) । पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स सङ्क्रमणको जोखिम बढेको छ । भारतमा हालै एक जनामा एमपक्स सङ्क्रमण पुष्टि भए पनि अझै नाकामा सावधानी अपनाइएको छैन । भारतबाट गड्डाचौकी नाका भएर दैनिक तीन सयको हाराहारीमा मानिस स्वदेश फर्किंदैछन् ।

भारतबाट फर्किनेको सामान्य जाँच पनि नहुँदा सङ्क्रमणको जोखिम बढेको हो । गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेङ्गु, एचआइभीलगायत रोग जाँच गर्ने गरिन्छ । उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताइन् ।

‘हामीसँग उपकरण छैन । एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ’, उनले भनिन्, ‘नेटमा हेरेर थाहा पाएको लक्षण मिल्दा मानिस आएमा निगरानी राख्छौँ । लक्षण, हाउभाउ हेरेर स्क्रिनिङ मात्रै गर्ने गरिएको छ ।’ उनका शङ्कास्पद लक्षण देखिए अस्पताल रेफर गर्ने गरिएको छ । हालसम्म शङ्कास्पद लक्षण देखिएका सात जनालाई रेफर गरिएको उनको भनाइ छ । भारतको विभिन्न ठाउँबाट दैनिक भित्रिने करिब अढाइ सय मानिसको स्क्रिनिङ भइरहेको छ ।

हिँडेर आउने मानिस स्क्रिनिङ पर्ने भए पनि सवारीसाधनबाट आउने मानिसको स्क्रिनिङ नै गर्न नसकिएको ल्याब टेक्निसियन धामी बताइन् । ‘गाडीमा आउनेहरू नाकामा रोकिँदैनन् । सिधै जान्छन् । त्यसैले उनीहरूलाई स्क्रिनिङ नै गर्न भ्याइँदैन’, उनले भनिन् । गड्डाचौकी नाका भएर महेन्द्रनगरदेखि दिल्ली र देहरादुनसम्म मैत्री बससेवा पनि सञ्चालनमा छन् ।

करिब एक दर्जन बसमा आउने यात्रु पनि जाँच नगरिकनै भित्रिने गरेका छन् । कतिपय यात्रु तेस्रो मुलुकबाट दिल्ली विमानस्थल हुँदै पनि आउने गरेका कारण सङ्क्रमणको जोखिम छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीका अनुसार सरकारले नाकामा स्क्रिनिङ गर्नका लागि पत्राचार गरेको छ ।

प्रतिक्रिया