सोमबार, कार्तिक २६, २०८१

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

नेपालखोज २०८१ भदौ २९ गते ८:२४

दोधारा चाँदनी (कञ्चनपुर) । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले ।

तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन् ।

उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकी छन् । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरेकी छन् ।

२०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गरेका उनले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गरिन् । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उनको भनाइ छ ।

उनको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उनका श्रीमान्ले किराना पसल सञ्चालन गरेका छन् । उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेकी छन् ।

‘तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ’, उर्मिलाले भनिन्, ‘अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको छ ।’

उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताइ । सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ ।

उनले लहरे तरकारीबाटै सिजनमा रु दुई लाख बचत हुने गरेको बताए । तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन ग¥यो ।

सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उनी आबद्ध भए । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उनको अनुभव छ ।

उनले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताए । ‘हामीले परम्परागत रुपमा खेती गर्दै आएका थियो’, उनले भनिन्, ‘सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो ।’ उक्त समुहमा १६ महिला आबद्ध छन् ।

सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ ।

प्रतिक्रिया