दोर्दी केन्द्र जोड्ने सडकको यात्रा कष्टकर बन्दै
लमजुङ । लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक समयमा निर्माण सम्पन्न नहुँदा यात्रा कष्टकर बन्दै गएको छ । सरकारले ‘एक पालिका एक सडक’ पुर्याउने अभियानअन्तर्गत अघि बढाएको यस पालिका जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडक वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा यात्रुलाई आवागमनमा समस्या हुँदै आएको हो ।
स्तरोन्नति तथा कालोपत्र सुरु गरिएको उक्त खण्डको काम दुई वर्षमा सक्नुपर्नेमा चार वर्ष बित्दासमेत सम्पन्न भएको छैन । ठाउँठाउँमा सडक खोतलिएको छभने कतिपय ठाउँमा पानी जमेर पोखरी बनिसकेको स्थानीय बताउँछन् । स्थानीय वासुदेव सेढाइँले भने, मेरो आमा बिरामी परेर केही दिनअघि जिल्ला सदरमुकाम बेँसीसहरको लमजुङ अस्पतालमा एम्बुलेन्समा लैजाँदै थिएँ, हिलाम्मे भएर सडक बिग्रिएकाले एम्बुलेन्स चिप्लेर धन्नै दुर्घटनामा परिएन ।
आमाको ज्यान बचाउन जाँदा अर्को विपद्को सामना गर्नुपर्यो । सडक ठाउँठाउँमा हिलाम्मे हुँदा यात्रु हिँड्डुल गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ । पालिकाको केन्द्र रहेको दोर्दी गाउँपालिका–४ नौथर सेराका मेखबहादुर घलेले यहाँबाट बेँसीसहर आउन सडकको दुरवस्थाका कारण दिनभरिजसो लाग्ने बताए । ठाउँठाउँमा भत्किएको सडक हिलाम्मे छ । हिलोमा गाडी फस्ने समस्या छ ।
गाडी फस्न नदिन यात्रुहरुलाई ठाउँठाउँमा झर्दै र मिलाउँदै हिँड्नुपर्ने अवस्था छ । सामान्य रुपमा करिब दुई घण्टामा बेँसीसहर पुगिने भए पनि अहिले दिनभरि लाग्ने गरेको छ, उनले भने । बेँसीसहर नगरपालिका–११ चितिका प्राविधिक शङ्कर श्रेष्ठले भन्नुभयो, ‘दोर्दी पालिका जोड्ने सडक सञ्जाल विस्तार भए पनि अधिकांश भाग यस वडाभित्रै पर्दछ । हामी पनि कामले यो सडक हुँदै हिँड्नुपर्छ, वर्षामा सडकले यात्रीले सास्ती दिएको छ ।’
सडक अवस्थाको स्थलगत अनुसन्धान गर्न वर्षाको समयमा पहिरोको जोखिम हुने भन्दै मानविय क्षति नहोस् भनेर अग्रसरता नलिइएको उनले बताए । दोर्दी गाउँपलिकासँग समन्वय गरी वर्षापछि सडक स्तरोन्नतिलाई तीव्रता दिन पहल गरिने प्राविधिक श्रेष्ठले उल्लेख गरे । दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सडकमा जताजतैबाट पानी जम्ने, हिलाम्मे हुँदा यात्रा गर्न सास्ती हुने गरेको बताए । ठेकेदारलाई गाउँपालिकाले मौखिक रुपमा समयमा निर्माणसम्पन्न गर्न आग्रह गर्दै आइरहेको भन्दै वर्षापछि कामलाई तीव्रता दिन दबाब सिर्जना गर्ने उनले उल्लेख गरे ।
जिल्लास्थित पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी नरेशराज जोशीले सडक सयममा सम्पन्न नहुँदा पानीले हिलाम्मे र खाल्डाखुल्डी बनाएकाले यात्रा असहज बनिरहेको बए । उनले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।
प्रतिक्रिया