गृहमन्त्री लेखकको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन
काठमाडाैं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम भाद्र ३० गते सम्पन्न भएको छ ।
दीक्षान्त समारोहका प्रमुख अतिथि गृहमन्त्री लेखकको सम्मानमा प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै ईज्जत अर्पण कवाजसमेत प्रदर्शन गरेका थिए । गृहमन्त्री लेखकले तालिममा सर्वप्रथम तथा कवाज प्रथम भएका सशस्त्र प्रहरी सहायक निरीक्षक मिलन तामाङ्गलाई खुकुरी प्रदान गर्नुकासाथै शारीरिक सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गरे ।
उनले स्थापनाकाल देखिनै अब्वल सुरक्षा निकाय एवं छोटो समयमा नै गर्विलो इतिहास बनाउन सफल पवित्र संगठनमा आवद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेकोमा प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै कार्यक्षेत्रमा सदैव सफलताको कामना सहित राज्यले सुम्पेको जिम्मेवारी उच्च व्यवसायिकतासाथ अनुशासित र इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिए ।
गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आएको जिम्मेवारीलाई थप प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिबृद्धि, साधनश्रोतको उपलब्धता महत्वपुर्ण पक्ष भएकोले संगठनलाई समय सापेक्ष आधुनिकीकरण गर्दै लैजाने कार्यमा आवश्यक पर्ने जनशक्ति तथा बन्दोबस्ती लगायतका विविध पक्षहरुको व्यवस्थापनमा मन्त्रालय सदैव सकारात्मक रहेको बताए ।
उनले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, राजश्व गस्ती एवं भन्सार सुरक्षामा सशस्त्र प्रहरीले उच्चस्तरको कार्यसम्पादन गर्दै आइरहेकोे उल्लेख गर्दै तालिम समापन पश्चात दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका अधिकृतहरुलाई राष्ट्र र जनताको सेवा तथा सुरक्षामा समर्पित भइ कार्यक्षेत्रमा परिचालित हुन निर्देशन समेत दिए । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा गृहमन्त्रीबाट प्राप्त भएको निर्देशन अक्षरश पालना गरिने बताउँदै राज्य र जनताले अपेक्षा गरे अनुरुप व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर क्षणिक लोभ र प्रलोभनमा नपरी उच्च नैतिकता र व्यवसायिकताका साथ राष्ट्र र जनताको बृहत्तर हित एवं सुरक्षालाई केन्द्र बिन्दुमा राखी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए।
उनले देश र जनताको सेवा, सुरक्षामा कटिवद्ध भई लाग्ने अभिप्रायले संगठनमा प्रवेश गरी दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका अधिकृतहरुलाई तालिमका दौरानमा आर्जित सैद्धान्तिक एवं व्यवहारिक ज्ञानलाई पेशागत जीवनमा अक्षरस पालना गरी कार्यसम्पादनमा जुट्न समेत निर्देशन दिए । समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण गराएका थिए ।
गत बर्ष भाद्र १२ गतेबाट शुरु भएको उक्त आधारभूत तालिम ११ जना महिलासहित कुल ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिममा शारिरीक सहिष्णुतातर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक जीवन लामा र चाँदमारीतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक देवराज पन्त उत्कृष्ट भएका छन् ।
दीक्षान्त समारोहमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया