मंगलबार, असोज २९, २०८१

बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली कार्यान्वयनमा ल्याउन निर्देशन

नेपालखोज २०८१ भदौ ३० गते १८:५०

काठमाडौं । राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । आईतबार सम्पुर्ण सरोकारवाला निकायहरुको नाउँमा सुचना जारी गर्दै राष्ट्र बैंकले यो नियमावली कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकको भनाई छ ।

बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन वाञ्छनीय भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट यो विनियमावली तर्जुमा गरी लागू गरिएको राष्ट्र बैंकको भनाई छ ।

नियमावली अनुसार “खाता” भन्नाले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले इजाजतपत्रप्राप्त संस्थामा खोलेको जुनसुकै प्रकारकोनिक्षेप तथा कर्जा खाता सम्झनुपर्छ भने “सम्पूर्ण खाता रोक्का” भन्नाले इजाजतपत्रप्राप्त संस्थाहरूमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने गरी गरिएको खाता रोक्का सम्झनुपर्छ ।

यसैगरी “निश्चित खाता रोक्का” भन्नाले कुनै इजाजतपत्रप्राप्त संस्थामा खोलिएका निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने गरी गरिएको खाता रोक्का सम्झनुपर्छ । “आंशिक खाता रोक्का” भन्नाले खातामा रहेको रकममध्ये निश्चित रकममात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावत्रूपमा प्रयोग गर्न सक्ने गरी गरिएको खाता रोक्का सम्झनुपर्छ ।

नियमावली अनुसार “कसुर” भन्नाले प्रचलित कानुनबमोजिम नेपाल सरकार वादी हुने फौजदारी कसुर सम्झनुपर्छ । “अधिकारप्राप्त अधिकारी” भन्नाले प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्न तथा कसुरको अनुसन्धान तथा तहकिकात गर्न प्रचलित कानुनबमोजिम तोकिएको अधिकारप्राप्त अधिकारी सम्झनुपर्छ ।

खाता रोक्का वा फुकुवा सम्बन्धी प्रक्रिया अनुसार प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी देहायबमोजिमको व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रूपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिने छ ।

प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुकोस्पष्ट कारण, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीनपुस्ते विवरण उल्लेख गर्नुपर्ने छ ।

कानुनी व्यक्ति भएमा खाता रोक्का गर्नुकोस्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने छ । कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण उल्लेख गर्नुपर्ने छ भने आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण उल्लेख गर्नुपर्ने छ । तर प्रचलित कानुनमा खाता रोक्का गर्ने सम्बन्धी स्पष्ट व्यवस्था नभएको अवस्थामा वा अधिकार प्राप्त अधिकारी बाहेकका अन्य व्यक्तिबाट आएका पत्रका आधारमा खाता रोक्कासम्बन्धी प्रक्रिया अघि बढाउन राष्ट्र बैंक बाध्य हुने छैन, नियमावलीमा भनिएको छ ।

नियमावली अनुसार प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीलेराष्ट्र बैंक समक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्नेछ । बैंक खाता रोक्का वा फुकुवाको लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकमा पत्र पठाउँदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनुपर्नेछ भने यस्तो पत्र इमेलमार्फत समेत पठाउन सकिनेछ । बैंक खाता फुकुवा गरिने व्यवस्था खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीले आंशिक रोक्का रहेको खाता फुकुवा, निश्चित रोक्का रहेको खाता फुकुवा वा सम्पूर्ण रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरेबमोजिम रोक्का रहेका खाता फुकुवा गर्न राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई निर्देशन दिनेछ । तर, रोक्का रहेको खाता अदालतको आदेशबमोजिम फुकुवा गर्न इजाजतपत्रप्राप्त संस्थालाई राष्ट्र बैंकको निर्देशन अनिवार्य हुनेछैन, नियमावली भनिएको छ ।

यो विनियमा वलीबमोजिम राष्ट्र बैंकले दिएको निर्देशन अविलम्ब पालना गर्नु एवम् विनियमावली कार्यान्वयनको लागि इजाजतपत्रप्राप्त संस्थाले सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का, आंशिक खाता रोक्का एवम् खाता फुकुवा गर्न राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम अविलम्ब खाता रोक्का वा फुकुवा गरी खाता रोक्का वा फुकुवा भएको जानकारी तत्काल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीलाई गराउनुपर्नेछ । राष्ट्र बैंकको निर्देशनबमोजिम आंशिक खाता रोक्का गर्नुपर्ने अवस्थामा इजाजतपत्रप्राप्त संस्थाले रोक्का गर्नुपर्ने खातामा तोकिएबमोजिमको रोक्का गर्नुपर्ने रकम नरहेको अवस्थामा खातामा उपलब्ध रकम रोक्का राखी पर्याप्त रकम नरहेको जानकारी राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीलाई गराउनुपर्नेछ ।

अदालतको आदेश भएकोमा वा सम्बन्धित निकायको अनुरोध बमोजिम राष्ट्र बैंकको निर्देशन भएकोमा बाहेक इजाजतपत्रप्राप्त संस्थाले रोक्का रहेको खाताबाट कुनै किसिमले रकम भुक्तानी, हस्तान्तरण, कट्टी एवम्रकमान्तर गर्न पाउने छैन । यसैगरी सम्पूर्ण खाता रोक्का राख्न निर्देशन प्राप्त भएमा इजाजतपत्रप्राप्त संस्थाले सम्बन्धित व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको नयाँ खाता खोल्न पाउने छैन । खाता रोक्कासम्बन्धी जानकारी वा सूचना सो कार्यमा संलग्न कर्मचारी तथा इजाजतपत्रप्राप्त संस्थाका ेव्यवस्थापकले गोप्य राख्नुपर्ने, नियमावलीमा उल्लेख छ ।

नियमावली अनुसार खाता रोक्का सम्बन्धी विशेष व्यवस्था अन्र्तगत इजाजतपत्रप्राप्त संस्थाहरूको खाता रोक्का हुने छैन । भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का हुने छैन । तर अल्पकालीन वा दीर्घकालीन रूपमा संस्था सञ्चालनमा नरही बन्द हुने अवस्था आएमा वा राष्ट्र बैंकले कारबाही गरी खाता रोक्का गर्नुपर्ने अवस्था देखिएमा वा अनुसन्धान गर्ने अधिकारीले कारणसहित राष्ट्र बैंकसमक्ष अनुरोध गरेको अवस्थामा सोको औचित्य विश्लेषण गरी उपविनियम (१) र (२) मा उल्लिखित उपर्युक्त बमोजिमको संस्थाको खाता रोक्का गर्न भने बाधा पुगेको मानिने छैन, बिनियमावलीमा भनिएको छ ।

कुनै कर्मचारीसँग सम्बन्धित विषयका कारण सम्बन्धित संस्थाको सम्पूर्ण खाता रोक्का गर्ने गरी अनुरोध गर्नुपर्ने भएमा खाता रोक्का गर्नु अघि निश्चित वा आंशिक खाता रोक्का गर्न मिल्ने वा नमिल्ने यकिन गरी सम्पूर्ण खाता रोक्का गर्दा संस्थाको व्यावसायिक निरन्तरतामा पर्ने प्रभाव, अन्य कर्मचारी तथा सरोकारवालालाई पर्ने प्रभाव र सम्बन्धित संस्थाको उक्त कर्मचारीप्रतिको दायित्व रकमसमेत खुलाई विवरण पेस गर्नुपर्ने छ । उक्त अनुरोधका सम्बन्धमा राष्ट्र बैंकले निश्चित वा आंशिक खाता रोक्का राख्न उपयुक्त देखेमा कर्मचारीप्रतिको दायित्व बराबरको रकम रोक्का राख्ने गरी इजाजतपत्रप्राप्त संस्थाहरूलाई निश्चित वा आंशिक खाता रोक्का राख्न निर्देशन दिन सक्नेछ ।

नियमावलीले खाता रोक्का वा फुकुवा गर्ने अधिकारका सम्वन्धमा भने खाता रोक्का वा फुकुवा गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सो सम्बन्धी निर्देशन दिन सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया