विश्वकप लिग–२ : पहिलो खेलमा क्यानडासँग नेपाल पराजित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । मंगलवार बिहान सम्पन्न भएको खेलमा नेपाललाई क्यानडाले १ सय ३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
५० ओभरको खेलमा नेपाल पहिलो पटक क्यानडासँग पराजित भएको हो । यसअघि भएका तीनवटा वनडे इन्टरनेशनलमा नेपाल विजयी हुँदै आइरहेको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २२ रन बनाए । ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाउँदै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन बनाए । यि चारै खेलाडी क्यानडाका तीव्रगतीका बलर डेलिन हेलिगरको बलमा आउट भएका थिए ।
गुलसन झाले २७ बलमा १५ रन जोड्दै डेलिन हेलिगरको बलमा एलबिडब्लु आउट भए । नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की ३० बलमा १८ रन बनाए । भीम यसै खेलमा डेब्यु गरेका अखिल कुमारको बलमा एलबिडब्लु आउट भए ।
त्यसअघि क्यानडाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रनको योगफल तयार पारेको थियो । नेपालले ४० ओभरसम्म उत्कृष्ट बलिङ गरे पनि अन्तिम १० ओभरमा भने १ सय ४ रन दिएको थियो ।
विश्वकप २०२७ को छनोटको रुपमा रहेको लिग २ को यो खेलमा जीत हासिल गरेसँगै क्यानडा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने नेपाल ४ खेलमा एक जीत तथा ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने यूएई अंक विहिन् हुँदै तालिकाको अन्तिममा छ ।
प्रतिक्रिया