आइतबार, असोज २७, २०८१

म्यानमारका एक तिहाइ मानिस बाढी प्रभावित 

नेपालखोज २०८१ असोज २ गते १६:२५

काठमाडाैं । चक्रवात यागीले म्यानमारमा जनधनको ठुलो क्षति गरेको छ । बर्मेली सेनाको पत्रिका ‘ग्लोबल न्यु लाइट’ ले भारी वर्षापछि आएको बाढीमा कम्तीमा २ सय २६ जनाको मृत्यु भएको जानकारी दिएको छ । राजधानी नेपिड‍ र देशको दोस्रो ठुलो सहर माण्डले बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्। माण्डलेमा मात्र करिब ४० हजार एकड खेतीयोग्य जमिन बाढीमा डुबेको छ। 

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)का अनुसार माण्डलेमा भारी वर्षा र बाढीका कारण करिब २७ हजार घरमा क्षति पुगेको छ । पीडितहरूका लागि देशभर ३ सय ३८ राहत शिविर सञ्चालनमा ल्याइएको छ । 

म्यानमारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कु’पछि सुरु भएको द्वन्द्वका कारण यसअघि नै सङ्कटको अवस्था छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ५ करोड ५० लाख जनसङ्ख्या भएको यो देशका करिब एक तिहाइ मानिसलाई मानवीय सहायताको खाँचो छ। भनिन्छ – बाढीका कारण जनताको समस्या अझ बढ्न सक्छ । 

अहिले एसिया, अफ्रिका तथा युरोपका धेरैजसो क्षेत्र चरम मौसमसँग सम्बन्धित बाढीजस्ता प्रकोपबाट प्रभावित छन्। युरोपका धेरै देशमा भारी वर्षापछि आएको बाढीका कारण अवस्था खराब छ । यसै गरी अफ्रिकाको ठुलो भागमा ठुलो खडेरी परेको छ। खडेरीका कारण पानी र खाद्य सङ्कटको सामना गरिरहेका जिम्बाब्वे र नामिबियाले ठुलो सङ्ख्यामा वन्यजन्तु मार्ने निर्णय गरेका छन् । जलवायु परिवर्तनका कारण यस्ता प्रकोप भविष्यमा नियमित हुन सक्ने वैज्ञानिकहरूको बताउँछन् ।

प्रतिक्रिया