खरिद बिल नदेखाउने फर्मलाई जरिवाना
वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा भएको संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरित कार्य गर्ने फर्मलाई जरिवाना गरेको छ ।
बजार अनुगमनको क्रममा खरिद बिल नदेखाउने र अनुगमनमा अवरोध गर्ने सात फर्मलाई नगद जरिवानासहित कारबाही गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख सुनिल चौरसियाले अनुगमनको क्रममा सात वटा फर्म तथा पसललाई कारबाही गरेको जानकारी दिए ।
‘‘संयुक्त टोलीले वीरगञ्ज बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकाले सोही ऐनको दफा ३९ बमोजिम छ वटा फर्मलाई नगद जरिवाना गरिएको छ’, उनले भने, ‘एउटा फर्मलाई सामान्य जरिवाना गरिएको छ ।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन, खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त अनुगमन टोलीले वीरगञ्ज बजारको अनुगमन गरेको थियो ।
संयुक्त अनुगमन टोलीले कारबाहीमा परेकालाई जरिवाना रकम सात दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलीप खंगखत्वेले चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिएर गुणस्तरहीन वस्तु बिक्री नगर्न सबै व्यापारी तथा व्यवसायीलाई अनुरोध गरेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको मधेस प्रदेशका आठ जिल्ला र चितवन र मकवानपुर अनुगमन गर्ने क्षेत्राधिकार रहेको छ ।
प्रतिक्रिया