के मोबाइल ह्याक गरेर विस्फोट गराउन सकिन्छ ?
लेबनानको राजधानी बेरुतमा भएको पेजर तथा रेडियो आक्रमणले अहिले सारा विश्वलाई नै स्तब्ध बनाएको छ । पेजर जुन धेरै जस देशमा चल्दैन, लेबनानमा सन्देशहरू पठाउन प्रयोग गरिन्छ। हिजबुल्लाह लडाकुहरूले इजरायली गुप्तचर र आक्रमणहरूबाट बच्न मोबाइल फोनको सट्टा पेजर प्रयोग गर्छन्।
गएको मङ्गलवार र बुधवार भएका सिरियल पेजर – रेडियो विष्फोटमा करिब १ दर्जनको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी घाइते भएका थिए ।
उक्त हमलामा इरानका राजदूत तथा हिजबुल्लाह लडाकुहरू घाइते भएका छन्। हिजबुल्लाहका सांसद अली अम्मर र हसन फदलाल्लाहका छोराको मृत्युको खबर पनि बाहिर आएको छ । जसरी यी आक्रमण भएका छन्, त्यो देखेर सारा संसार स्तब्ध छ र य आक्रमणका लागि इजरायललाई जिम्मेवार ठहराइएको छ। पेजर विष्फोटपछि एउटा ठुलो प्रश्न के उठेको छ भने के यसरी नै मोबाइल ह्याक गरेर विष्फोट गराउन सकिन्छ ? हेरौँ यसको सम्भावना कति छ ?
पेजर आक्रमण कसरी भयो ?
न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार इजरायलले ताइवानको वायरलेस पेजर कम्पनी गोल्ड अपोलोबाट अर्डर गरेको पेजरको ब्याचभित्र विस्फोटक पदार्थ लुकाएको थियो र त्यसलाई रिमोटबाट विस्फोट गराउन मिल्ने बनाएको बताइएको छ । यसकै परिणामस्वरूप टाढा बसेका आक्रमणकारीले एकपछि अर्को आक्रमण गर्न थाले । यद्यपि गोल्ड अपोलोले यो रिपोर्टलाई अस्वीकार गरेको छ । पेजर मार्फत यो आक्रमण सजिलो थियो किनभने यसको प्रणाली स्मार्टफोन भन्दा कम सुरक्षित छ।
पेजरले रेडियो सिग्नलमा काम गर्दछ। यसमा सिम वा नेटवर्कको आवश्यकता पर्दैन। पेजरहरू एन्क्रिप्टेड हुँदैनन् अर्थात् तिनलाई सजिलै ह्याक गर्न सकिन्छ।
के स्मार्टफोनमा यो सम्भव छ ?
यदि हामी पेजर र स्मार्टफोन बिचको समानताका बारेमा कुरा गर्छौँ भने दुवैमा लिथियम आयन ब्याट्री प्रयोग गरिन्छ।
स्मार्टफोन तातेका कारण ब्याट्री विस्फोट वा ब्लास्ट भएका घटना तपाईँ – हामीले सुन्दै आएका हौँ । यदि स्मार्टफोनको कुरा गर्ने हो भने त्यसको माध्यमबाट कुनै पनि घटना गराउन , विस्फोटक लुकाउन वा ह्याक गर्न रेडियो सिग्नल वा इलेक्ट्रोनिक पल्स मार्फत यसको आपूर्ति शृङ्खलाको इन्टरफेसलाई हेरफेर गर्न आवश्यक हुन्छ।
पेजरको तुलनामा स्मार्टफोन बढी सुरक्षित
स्मार्टफोनमा कुनै पनि ह्याकर वा प्रणाली मार्फत यसको ताप बढाएर ब्याट्री विस्फोट गराउन अलि गाह्रो हुन्छ किनभने स्मार्टफोनको सुरक्षा धेरै राम्रो हुन्छ। अर्को कुरा स्मार्टफोन सर्किटरीमा चल्छ जसका कारण यसको ब्याट्री सुरक्षित रहन्छ । केही केस बाहेक स्मार्टफोनमा तातो बढ्दा यसको स्वचालित प्रणाली सक्रिय हुन्छ र चार्ज पनि स्वतः बन्द हुन्छ । स्मार्टफोनमा प्रयोग हुने कुलिङ चेम्बरले ब्याट्रीलाई पनि सुरक्षित राख्छ। यसरी मोबाइलमा यस्तो आक्रमण गर्न निकै कठिन हुन्छ । यद्यपि ह्याकरहरूले स्मार्टफोनमा विस्फोटक पदार्थ राखेर टाइमर वा रिमोट सेट गर्न सके भने यो असम्भव पनि छैन ।
प्रतिक्रिया