सुख्खा पहिरोमा परी एक महिला बेपत्ता
नेपालखोज
२०८१ असोज ७ गते २१:०१

गुल्मी । सुख्खा पहिरोमा परी यहाँको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएका छन् । ६९ वर्षीया टनि पुन आईतबारदेखि बेपत्ता भएका हुन् ।
घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुख्खा पहिरो झरेको थियो । त्यसपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ । उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट सुख्खा पहिरो गएको छ ।
उनी अझै सम्पर्कमा नआएकोले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया